काठमाडौँ — आज देश-दुनियाँमा दुम्कीबासमा पुल भाँचिँदा पूर्व-पश्चिम राजमार्ग ठप्प, प्रहरीले बुझायो सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन, रास्वपा सभापति लामिछानेसहित ४२ प्रतिवादीदेखि पाँच महिनामा साढे ६ खर्ब रेमिट्यान्स भित्रियोसम्मका खबर चर्चामा रहे ।
000
पूर्व-पश्चिम राजमार्गअन्तर्गत दुम्कीबासको पुल भाँचिदा यातायात अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको हो । अत्यधिक भार बोकेको लरीका कारण शुक्रबार साँझ साढे ५ बजेतिर दुम्कीबासदेखि केही पूर्वमा रहेको विनयी खोला पुलमा भाँचिएको हो ।
000
इलाका प्रहरी कार्यालयले बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, उपाध्यक्ष छविलाल जोशी बञ्जाडेसहित ४२ जनालाई प्रतिवादी बनाउँदै प्रतिवेदन तयार गरेको छ ।
000
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यसम्पादन विवरण पेस गरेका छन् । ऊर्जामन्त्री दीपक खड्काले गत सोमबार ९ बुँदे स्पष्टीकरण सोधेपछि कार्यकारी निर्देशक घिसिङले शुक्रबार कार्यसम्पादन विवरण बुझाएका हुन् ।
000
चालु आर्थिक वर्षको पाँच महिनामा रेमिट्यान्समार्फत ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही महिनाको तुलनामा यो ४.४ प्रतिशतले बढी भएको नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मंसिर महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको पाँच महिनासम्ममा रेमिट्यान्स आप्रवाह २४.२ प्रतिशतले बढेको थियो ।
000
क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस एन्जलस र वरपरका क्षेत्रमा क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकहरुलाई परिचालन गर्ने तयारी गरिरहेको अधिकारीले बताएका छन् । लस एन्जलस काउन्टी मेडिकल एक्जामिनरले बिहीबार अबेर १० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिकाको दोस्रो ठूलो शहरको ठूलो भाग भग्नावशेषमा परिणत भएका बेला क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकहरुलाई परिचालन गर्ने तयारी गरिरहेको जानकारी आएको हो ।
