दुम्कीबासमा पुल भाँचियो, पूर्व-पश्चिम राजमार्ग ठप्प  

पुस २६, २०८१

नारायण शर्मा

Bridge broken in Dumkibas, East-West highway blocked

नवलपरासी पूर्व — पूर्व-पश्चिम  राजमार्गअन्तर्गत दुम्कीबासको पुल भाँचिदा यातायात अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको हो । 

अत्यधिक भार बोकेको लरीका कारण शुक्रबार साँझ साढे ५ बजेतिर दुम्कीबासदेखि केही पूर्वमा रहेको विनयी खोला पुलमा भाँचिएको हो । इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाका अनुसार जीर्ण पुलमा अत्यधिक तौल बोकेको लरी गुड्दा पुल नै लच्किएको हो । 

डाइभर्सन सडक निर्माण नगरेसम्म राजमार्गको यातायात ठप्प भएको छ । वैकल्पिक सडक निर्माण नगरेसम्म राजमार्ग हुँदै पूर्व-पश्चिम हिँड्ने गाडी दाउन्ने र अरुणखोलामा प्रहरीले रोकेको छ ।

एकै ठाउँमामा गाडीको चाप धेरै नहोस् भन्नका लागि अरुणखोला र बर्दघाटमा पूर्व-पश्चिम हिँडेका गाडी रोकिएको प्रहरीले जनाएको छ ।  पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोला पुल सबैभन्दा लामो हो । पुलमा फसेको लरी निकाल्नसमेत समस्या भएको प्रहरीको भनाइ छ । 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully