माधव नेपालको आशंका : प्रधानमन्त्रीले संसद् भंग गरेर २०८७ सालसम्मै बस्ने सोच्नु भएको छ कि ?

पुस २६, २०८१

कान्तिपुर संवाददाता

Madhav Nepal's apprehension: Is the Prime Minister thinking of dissolving the Parliament and staying till 2087?

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेर ०८७ सम्म सरकारमा बस्ने चाहना राखेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले यस्तो बताएका हुन् । 

अध्यक्ष नेपालले संविधान संशोधनबाट वर्तमान प्रधानमन्त्री पछि हटेको भन्नेकुरा सुनेको भन्दै जनताको सुविधाहरूमा बाधा बनेको ठाउँमा संविधान संशोधन गर्नुपर्ने बताए । 'संविधान संशोधनको कुराबाट वर्तमान सरकारका प्रधानमन्त्री पछि हट्नुभयो भन्ने आइरहेको छ । कति साँचो हो होइन थाहा भएन । २०८७ सम्म बस्ने उहाँको चाहना होला । अब हेरौँ । ०८७ सम्म चुनाव नै नगरी बस्ने हो कि त्यसमा पनि मान्छेले प्रश्न खडा गर्दछन् । संसद् नै भंग गर्ने मान्छेले संसद् भंग गरेर ठेलेको ठेलेकै गरेर अर्को ६ वर्ष बसौँला भन्ने सोच्नुभएको छ कि थाहा भएन,’ उनले भने ।

प्रधानमन्त्री ओलीले मंगलबार पार्टी केन्द्रीय समितिको समापन गर्ने क्रममा २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भनेका थिए । प्रधानमन्त्री ओलीको उक्त भनाइप्रति कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायतले समेत आपत्ति जनाएका छन् । 

अध्यक्ष नेपालले अध्यक्ष दाहालसँगको बैठकमा भने समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउनेबारेमा छलफल भएको बताए । 'समाजवादी मोर्चालाई कसरी फेरि पुनःजागृत गर्ने, पुनः क्रियाशिल बनाउने भन्ने विषयमा नै केन्द्रित थियो । यसका लागि हामीले माघ २ गते समाजवादी मोर्चामा भएका ४ घटकहरु, नेकपा (एकीकृत समाजवादी), माओवादी, विप्लवको पार्टी र महिन्द्र राय यादवजीको नेपाल समाजवादी पार्टीसँग सल्लाह गर्छौं । समाजवादी मोर्चालाई हामीले क्रियाशील बनाउँछौँ,' उनले भने । 

कान्तिपुर

Link copied successfully