लन्डन — नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला लन्डन आइपुगेका छन् । इन्डो प्यासिफिक हेर्ने बेलायती विदेश राज्यमन्त्री क्याथरिन वेष्ट र उद्योग वाणिज्य राज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला बेलायत आएका हुन् ।
बिहीबार राति १०:३० बजे लन्डन हिथ्रो विमानस्थल टर्मिनल फोरमा उत्रिएका नेता कोइरालालाई बेलायतस्थित नेपाली कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुले स्वागत गरे । विमानस्थलमा नेता कोइरालाले आफू एक सांसदको हैसियतमा बेलायत आएकाले यहाँ बेलायती सांसद र नेताहरुसँग भेटघाट गर्ने, बुझ्ने र केही सिक्ने बताए ।
उनले बेलायतको नेपाली समुदायलाई समेत आफ्नो देशको समृद्धिमा साथ दिन आग्रह गर्दै उनीहरु देशका राजदूत भएकाले बेलायत नेपाल सम्बन्ध बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्न अनुरोध गरे । एक प्रसंगमा नेता कोइरालाले अहिले कांग्रेसको ‘कोर भ्यालू’ खस्किएको बताउँदै यसबारे सोच्नुपर्ने बेला आएको उल्लेख गरे ।
कोइरालाले आउँदो १३ जनवरी साँझ बेलायती संसद् भवनको एक कक्षमा गर्न लागिएको एक विशेष कार्यक्रममा सम्वोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्री, बेलायती सांसदहरू एवं नेपाली समुदायका प्रतिनिधिको उपस्थिति रहने जनाइएको छ ।
नेता कोइरालाले एक साता बेलायतमा रहंदा बेलायती राजनीतिज्ञहरुसंग भेटघाट साथै विभिन्न शहरमा नेपाली समुदायसंग पनि अन्तरक्रिया गर्नेछन् । उनी शुक्रबार दिउँसो लन्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने 'रिसेप्सन' मा सहभागी हुने तय छ । नेता कोइरालालाई शुक्रबार साँझ नै साउथ ह्यारोमा नागरिक अभिनन्दन गरिने भएको छ ।
उनी जनवरी ११ मा क्याम्ब्रीज र जनवरी १२ आइतबार साउथ इष्ट लन्डनमा आयोजना हुने कार्यक्रममा समेत सहभागी हुने आयोजकले जनाएका छन् । नेपाली जनसम्पर्क समिति बेलायतको आयोजनामा आइतबार प्लमस्टिडस्थित गोर्खा क्याप्रीकनमा हुन लागेको ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा डा. कोइराला प्रमुख अतिथी रहने समितिका कार्यकारी सभापति युवराज सिंहले जनाए । कोइराला बेलायत भ्रमण पूरा गरी जनवरी १६ तारिख नेपाल फर्किनेछन् ।
