माओवादी सिध्याउन खोज्नेहरूले शान्ति प्रक्रिया टुंग्याउन दिएनन् : दाहाल

पुस २५, २०८१

विवेक पोख्रेल

Those who want to end the Maoists did not allow the peace process to end: Dahal

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी सिध्याउन खोज्नेहरूले संक्रमणकालीन न्यायसम्बन्धी काम टुंग्याउन नदिएको टिप्पणी गरेका छन् । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सडकबाट समेत दबाब सिर्जना गर्नुपर्ने अवस्था आएको उनले बताएका छन् । 

राज्यद्वारा बेपत्ता पारिएका राजेन्द्र ढकालको २६ औं स्मरण दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ कार्यक्रममा दाहालले राजनीतिक कारणले संक्रमणकालीन न्याय निरूपण प्रक्रिया टुंग्याउन गाह्रो भएको बताए ।

‘यसमा कुनै कन्फ्युजन हुनुपर्ने कारण छैन, माओवादीलाई तह लगाउने अन्तिम प्रयास यही हो । माओवादीलाई सिध्याएर मात्र अरू के गर्ने हो, गरौं भन्ने राजनीतिक सोच र प्रवृत्तिका मानिसका कारणले टुंग्याउन सकिएको छैन,’ उनले भने, ‘मैले यो कुरा आवेग वा भावनामा भनेको होइन ।’

माओवादी अध्यक्ष दाहालले राजनीतिक रूपमा ठूलो मतभिन्नताका बाबजुद पनि सहमति र समझदारीबाटै शान्ति प्रक्रियालाई टुंग्याउनुपर्छ भनेर आफूले प्रयास गरिरहेको बताए ।

‘१२ बुँदे समझदारी वा विस्तृत शान्ति सम्झौता जसरी नै यसलाई टुंगो लगाउनुपर्छ भन्नेमा म छु,’ उनले भने, ‘यसका लागि पीडितले पटकपटक आवाज उठाइरहन जरुरी छ । अब त अन्तिम विकल्प सडक नै हुने हो कि भन्ने पनि लाग्न थालेको छ । दबाब बढाउँदै गयौं भने छिटो टुंगोमा पुग्छ ।’

शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सबै राजनीतिक दल इमानदार हुनुपर्ने उल्लेख गर्दै दाहालले यस विषयमा कांग्रेस र एमालेसँग आफूले छलफल गर्ने बताए । 

कार्यक्रममा पूर्वमन्त्री तथा एमाले नेता अग्नि खरेलले शान्ति प्रक्रियालाई टुंगो लगाउन सरकार र आफ्नो पार्टी इमानदार रहेको बताए । पूर्वमन्त्री गोविन्द बन्दीले संक्रमणकालीन न्यायलाई टुंग्याउन कानुनी पक्षलाई मात्र नहेरी द्वन्द्वपीडित विश्वस्त हुने वातावरण बन्नुपर्नेमा जोड दिए ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याउन विलम्ब भए मुलुकको छवि अन्तर्राष्ट्रिय रूपमा धुमिल हुने बताए । कार्यक्रममा उपस्थित द्वन्द्वपीडित परिवारले १८ वर्षसम्म पनि न्याय नपाउँदा आफूहरू थप पीडित भएको बताए ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully