संविधान संशोधनबारे प्रधानमन्त्रीको अभिव्यक्तिले सत्ता गठबन्धनको औचित्यमाथि प्रश्न उठायो : साउद

'कांग्रेस-एमालेको सातबुँदेको जगमा उभिएर बनेको प्रधानमन्त्रीले संविधान संशोधनको कुरालाई कार्यान्वयन गर्ने सात बुँदे सहमतिलाई धरापमा पार्ने ?'

पुस २५, २०८१

कान्तिपुर संवाददाता

The Prime Minister's statement on the amendment of the constitution raised questions about the legitimacy of the power coalition: Saud

काठमाडौँ — संविधानको संशोधन २०८७ सालमा मात्रै गर्ने भनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति संविधान र सरकार गठनका बेला कांग्रेस र एमालेबीच भएको सहमतिविपरीत भएको कांग्रेस नेता एनपी साउदले बताएका छन् ।

प्रधानमन्त्री ओलीले सत्तारुढ गठबन्धनको भविष्यमाथि प्रश्न उठ्ने अभिव्यक्ति दिएको सांसदसमेत रहेका कांग्रेस केन्द्रीय सदस्यले बताएका छन् । 

कांग्रेसको जिल्ला समिति बर्दियाले बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका साउदले प्रधानमन्त्रीको अभिव्यक्तिले सत्ता गठबन्धनको औचित्यमाथि प्रश्न उठेको बताए ।

'१० वर्षपछि संविधानमा पुनरावलोकन गर्नेर्छौं र सबै पक्षको बारेमा मूल्यांकन गर्नेर्छौं भनेका छौं । प्रधानमन्त्रीले २०८१ मा हैन २०८२ मा १० वर्ष पुग्ने हुनाले संशोधन गरौंला भनेको भए अलिकति हुन्थ्यो । अब २०८७ मा गरौं भनेको कुरा संविधान र ७ बुँदे सहमतिको खिलाफमा मा आएको छ,' साउदले भने, 'प्रधानमन्त्रीले कहाँ के भन्नुभएको हो भनेर कांग्रेसले उचित समयमा प्रष्ट हुने कोसिस गर्नेछ । यसबारे पार्टीभित्र पनि बोल्नेछौं । प्रधानमन्त्रीको यस कुराले गठबन्धनको औचित्य, अस्तित्व, प्रभावकारिकता र भविष्यमामाथि प्रश्न उठाएको देखिन्छ ।'

प्रधानमन्त्रीले संविधान संशोधनका सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर कांग्रेस गम्भीर हुन आवश्यक रहेको पनि साउदले बताए । 'संविधानमा कमिकमजोरी छन्, यसलाई सच्याउनुपर्छ भनेर ७ बुँदे आधारमा गठबन्धन गर्‍यौं । हिजोमात्रै प्रधानमन्त्री केपी ओलीको महत्त्वपूर्ण अभिव्यक्ति आएको छ । जसमा उहाँले संविधान संशोधन २०८७ तिर हुन्छ भन्नुभएको छ । २०८७ तिर सविधान संशोधन गर्ने उहाँको रोडम्याप जुन छ त्यो बिल्कुल कसैले पनि सम्झन नसक्ने खालको छ,' उनले भने, 'संविधान संशोधन गर्नका लागि भनेर कांग्रेस एमालेको सातबुँदेको दोस्रो बुँदामा उल्लेख छ । कांग्रेस र एमालेको गठबन्धनले संविधान संशोधन गर्न पुगेन भने राष्ट्रिय सहमति गर्छौं भनेका छौं । त्यो प्रतिबद्धताको जगमा उभिएर बनेको प्रधानमन्त्रीले संविधान संशोधनको कुरालाई कार्यान्वयन गर्ने ७ बुँदे सहमतिलाई धरापमा पार्ने ?'

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले एमालेसँग सत्ता सहकार्य भए पनि कांग्रेसको प्रतिस्पर्धा पनि एमालेसँग नै हो भन्ने बिर्सन नहुने बताइन् । सुशासनका जगमा मात्रै समृद्धिको यात्रा तय हुने भन्दै उनले कांग्रेस सबै भ्रष्टाचारका फाइल खोल्ने कुरामा प्रस्ट रहेको दाबी गरिन् ।  

कान्तिपुर

Link copied successfully