भाषा परीक्षामा उत्तीर्ण सबैलाई कोरिया लैजान श्रममन्त्रीको आग्रह

पुस २५, २०८१

कान्तिपुर संवाददाता

Labor Minister's request to take all those who passed the language test to Korea

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले भाषा परीक्षामा उत्तीर्ण भएका सबै नेपालीलाई रोजगार अनुमति प्रणाली (ईपीएस)मा लैजान दक्षिण कोरियासमक्ष प्रस्ताव राखेका छन् ।

नेपालका लागि कोरियन राजदूत पार्क टी–योङसमक्ष बिहीबार भएको शिष्टाचार भेटमा श्रममन्त्री भण्डारीले भाषा परीक्षामा उत्तीर्ण भएका नेपालीहरू लामो समयदेखि कोरियाको रोजगारीका लागि पर्खिने अवस्था रहेको बताए ।

‘दक्षिण कोरिया जानका लागि परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका सबै नेपालीलाई पठाउनका लागि आगामी दिनमा श्रमिकको माग संख्या बढाउनका लागि पहल गर्नुपर्ने देखिएको छ,’ उनले राजदूतसमक्ष भने, ‘कोरिया भाषा परीक्षा उत्तीर्ण गरेका, तयारीमा रहेका, विगतमा रोस्टरमा नाम परेका तर कोरिया जान नपाएका व्यक्तिहरु समेतलाई लक्षित गरी विशेष व्यवस्था गर्नुपर्ने अवस्था छ । यसका लागि सीप विकासमा कोरिया सरकारले सहयोग गर्न आग्रह गर्दछु ।’

श्रममन्त्री भण्डारीले नेपाल र दक्षिण कोरियाबीच भएको श्रम सम्झौतालाई पुनरावलोकन गरी नवीकरण गर्नुपर्ने बताए । ‘सीपयुक्त श्रमिकलाई दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधि, ईपीएसको परीक्षा उत्तीर्ण भई रोस्टरमा रहेका नेपाली कामदारलाई शीघ्र रोजगारमा पठाउन थप सहजीकरण गर्नुपर्नेछ,’ उनले भने ।

नेपालका लागि दक्षिण कोरियाका राजदूत योङले नेपाली कामदारको उच्च कदर गर्दै नेपालबाट निरन्तर रुपमा कामदार लैजाने बताए । ‘रोस्टरमा नाम समावेश भएका व्यक्तिलाई उच्च प्राथमिकताका साथ रोजगारमा लैजान पहल गर्ने र थप नेपाली कामदार लैजाने विषयमा आफू सकारात्मक छु,’ उनले भने ।

कान्तिपुर

Link copied successfully