१ लाख घूस बोकेर अख्तियार पुग्ने प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

पुस २५, २०८१

कान्तिपुर संवाददाता

Corruption case against the chief administrative officer who reached the authority with 1 lakh bribe

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमै घूस लिएर जाने प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अहिले नुवाकोटको किस्पाङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत ध्रुवप्रसाद सापकोटाविरुद्ध बिहीबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

अछामको मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहँदा सापकोटाले मेसिनरी सामान खरिदमा घुस लिएको आरोप छ । त्यही आरोपमा अख्तियारको कञ्चनपुर कार्यालयले उनीमाथि अनुसन्धानसमेत गरिरहेको थियो ।

सापकोटाले अख्तियारको कञ्चनपुरको कार्यालयमा गई  कागजातसहितको खाम दिए । अनुसन्धान अधिकृतले हरियो झोलाभित्र रहेको खाम खोल्न सापकोटालाई आग्रह गरे । खाममा १ लाख रुपैयाँ देखेपछि अनुसन्धान अधिकृतले 'यो केको पैसा हो ?' भनेर सापकोटालाई सोधे । त्यसपछि सापकोटाले भने, 'मुद्दा मिलाईदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो ।' घुस दिने मनसायसहित आएको भन्दै अख्तियारले तत्काल सापकोटालाई नियन्त्रणमा समेत लियो । 

मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहँदा खरिद कार्यमा अनियमितता गरेको भन्ने उजुरीमा अनुसन्धान गरिरहेकै बेला अनुसन्धान अधिकृतलाई मुद्दा  अगाडि नबढाउन घूस दिएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सापकोटालाई भ्रष्टाचार निवारण ऐन-२०५९ अनुसार सापकोटालाई १ लाख बिगो कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ । 

कान्तिपुर

Link copied successfully