ताप्लेजुङ — चीनको तिब्बतस्थित डिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर सोमबार बिहान ६.८ म्याग्निच्युडको भूकम्प गएको तीन दिनसम्म पनि सीमावर्ती बस्ती ओलाङचुङगोलाका बासिन्दा ढुक्कले सुत्न पाएका छैनन् । भूकम्पको परकम्पनले यहाँका बासिन्दालाई छिनछिनमा घरबाट भगाइरहेको छ ।
फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका नुपू शेर्पा बुधबार र बिहीबार मात्रै १७ पटक परकम्पको धक्का गनेको बताउँछन् । ‘बुधबार बेलुका ७ बजे र ९ बजे दुई पटक निकै हल्लायो,’ उनले भने, ‘खाना पकाउने खाने बेला भएको थियो गाउँलेहरू सबै घरबाट बाहिर निस्कियौं ।’
त्यसअघि र पछिचाहिँ भुईंचालो गएको अनुभूति मात्रै गरेको भाग्नै नपरेको उनले बताए । सानो भुईंचालो गइरहँदा ठूलो पनि आउँछ कि भन्ने चिन्ता भएको चुङदाक शेर्पा बताउँछिन् । ‘बुधबार राति ७ बजे त खाना नै छाडेर भाग्यौं,’ उनले भनिन्, ‘नौ बजे प्राय: सुतिसकेका थियौं, फेरि ठूलै धक्का गयो ।’ बारम्बार भूकम्पले हल्लाउँदा डर लागिरहेको उनले बताइन् । ‘हामी त केही नहोस् भनेर गुम्बामा धूप बालिरहेका छौं,’ उनले थपिन्, ‘स–साना धक्का जाँदा पनि डर भइरहेको छ ।’
मुस्किलले फोन लाग्ने तर इन्टरनेट नचल्ने गोलाका बासिन्दाले काठमाडौं र ताप्लेजुङमा सोधेरै तिब्बत भूकम्पको सूचना लिइरहेका छन् । ‘टेलिभिजनबाट हेरिरहेका छौं,’ नुपूले भने, ‘अहिले मिडियाले त्यहाँको कुरा कम गर्न थालेपछि फोन गरेर सोध्न थालेका छौं ।’ फक्ताङलुङ–६ लेलेपको फलेका बासिन्दाले भने विच्याटमार्फत तिब्बतको डिङ्ग्री काउन्टीमा आफन्तसित कुरा गरिरहेको स्थानीय मिङ्मा शेर्पाले बताए । ‘त्यहाँका आफन्त एक जना लामा यहाँ हुनुहुन्छ,’ मिङ्माले भने, ‘उहाँले विच्याटमा काकाको छोरासँग कुरा गर्दै क्षति भएको भिडियो पनि देखाउनुभयो ।’
लामा फलेमा बस्ने तिब्बती शरणार्थी हुन् । डिङ्ग्रीमा गएको भूकम्पका कारण सीमावर्ती क्षेत्रका बस्तीमा मानवीय तथा भौतिक क्षति भने भएको छैन । परकम्प गइरहँदा मानसिक रूपमा त्रास भइरहेको पूर्ववडाध्यक्ष छेतेन शेर्पा भोटे बताउँछन् ।
‘बेलाबेला हल्लिन्छ थाहै पाउने गरी १२/१५ पटक गयो ।’ राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार तिब्बतको भूकम्पपछि बिहीबार बिहानसम्म नेपालबाट ८ सय ५२ वटा परकम्प मापन गरिएको छ । तीमध्ये एक दर्जन परकम्प ४.० म्याग्निच्यूडमाथिका छन् । यी सबै तिब्बत भूकम्पकै परकम्प भएको उनले बताए । ओलाङ्चुङगोला सीमावर्ती बस्ती भएकाले परकम्पको अनुभूति बढी भएको हुन सक्ने उनले बताए ।
तिब्बतमा मंगलबार गएको भूकम्पमा परी १ सय २६ जनाको मृत्यु भएको छ भने झन्डै २ सय जना घाइते भएका छन् ।
