काठमाडौँ — सत्तारुढ कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान संशोधन २०८७ सालमा मात्रै गर्ने भनी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट अभिव्यक्ति आएको भन्दै आपत्ति जनाएका छन् ।
कांग्रेस र एमालेको वर्तमान सत्ता गठबन्धन रहेको बेला नै संविधान संशोधन गरेर जान्छौं भनेर सात बुँदे सहमति स्मरण गराउँदै शर्माले प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।
झापामा बुधबार आयोजित कांग्रेसको कचनकवल–सगरमाथा जागरण अभियानको शुभारम्भ कार्यक्रममा शर्माले प्रधानमन्त्री ओलीको भनाइको विरोध गरेका हुन् ।
'प्रधानमन्त्रीले भन्नुभएको मैले सुनेँ यदी उहाँले एमालेको बैठक हुँदैगर्दा भन्नुभएको संविधान संशोधन त २०८७ मा हुन्छ भनेर भन्ने हो भने त्यसमा म विनम्रतापूर्वक उहाँकै जिल्लाबाट गम्भीरतापूर्वक विमति राख्न चाहन्छु,' शर्माले भने, 'सात बुँदे समझदारी गर्दैगर्दा हामीले संविधान संशोधन आजको आवश्यकता जगमा यसलाई पुनःमूल्यांकन गरेर संशोधन गर्ने भनेका छौँ । संविधान संशोधन गर्न निश्चय नै राष्ट्रिय सभामा माओवादी पार्टीको सहभागिता भएन भने दुई तिहाईको गणित पुग्दैन । हामीले संविधान संशोधन गर्नका लागि गणितीय रुपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा हामी छैनौँ प्रधानमन्त्रीज्यु । प्रधानमन्त्रीले र हाम्रो पार्टीको सभापतिले हामी दुई मुख्य दलले सरकारमा रहेको बेला हामी मात्रै संविधान संशोधन गरेर जान्छौँ भनेर हामीले घोषणा गरेको होइन ?’
प्रधानमन्त्री ओलीले मंगलबार पार्टी केन्द्रीय समितिको समापन गर्ने क्रममा २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भनेका थिए । शर्माले भने प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिमा आपत्ति जनाएका हुन् । ‘संविधान संशोधनको ढोका खोल्ने परामर्श भएको छ । सात बुँदे समझदारीमा त्यो लेखिएको छ । संविधान संशोधन गरिरहँदा के हो त, नागरिकको अपेक्षा ? के हो त पार्टीका साथीहरूको अपेक्षा ? गाउँगाउँको अपेक्षा के हो ? भन्ने विषयलाई अध्ययन गरेर ल्याउनुपर्छ । चर्चामा रहेको जस्तो १६५ को संख्यालाई सय, सवा सयमा सिमित गरौँला त्यो ठूलो कुरा होइन तर हामीले संविधान संशोधन गर्दैगर्दा यी विषयहरूको संशोधन गर्नु नै छ,' शर्माले भने, 'समानुपातिकलाई व्यवस्थापन गर्नेकुरा त गर्नु नै छ । तर सबैभन्दा गहन रुपमा छलफल गर्नुपर्ने विषय अबको संविधान संशोधनपछाडि यो देशले ७० वर्षमा एक पटक लगातार पाँच वर्ष एउटै प्रधानमन्त्रीले शासन नगरेको देशमा पाँच वर्ष निरन्तर टिक्ने प्रधानमन्त्री बनाउने भन्ने पद्धतिको खोजी गर्नुपर्ने कर्तव्य छ ।'
महामन्त्री शर्माले सबै राजनीतिक दलहरूलाई विश्वासमा लिएर संविधान संशोधन गर्न जरुरी रहेको बताए । २०८७ मै संविधान संशोधन गर्ने भए पनि कांग्रेस र एमालेको छलफलपछि मात्रै भन्न पाउने बताए । बिनाछलफल २०८७ मा संविधान संशोधन गर्छौं भन्ने हक एमाले पार्टीको अध्यक्ष र कांग्रेसको महामन्त्री कसैलाई पनि नरहेको जिकिर गरेका थिए ।
