कोरियाका लागि नेपाली राजदूत तुम्बाहाङ्फेले बुझाइन् ओहदाको प्रमाणपत्र

पुस २४, २०८१

कान्तिपुर संवाददाता

Nepali Ambassador to Korea Tumbahangfe handed over the certificate of appointment

काठमाडौँ — दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत शिवमाया तुम्बाहाङ्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् । मंगलबार  सियोलमा आयोजित एक समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् ।

प्रमाणपत्र पेस गरेपछि राजदूत तुम्बाहाङ्फेले कार्यवाहक राष्ट्रपति चोईसँग शिष्टाचार भेट गरेको सिओलस्थित नेपाली राजदूतावासले आज जनाएको छ । त्यस अवसरमा राजदूत तुम्बाहाङ्फेले नेपाल  र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको सन्दर्भमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन  उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्त्वपूर्ण हुने बताउँदै आगामी मेसम्ममा त्यस्ता भ्रमणका निम्ति सहजीकरण गर्न दूतावासलाई अवसर मिल्ने विश्वास व्यक्त गरिन् । 

आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउन इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै राजदूत तुम्बाहाम्फेले गणतन्त्र कोरियामा रहेका एक लाखभन्दा बढी नेपाली कामदारले दुई देशबीच जनस्तरको सम्बन्धलाई प्रवर्द्धनका साथै कोरियाको अर्थतन्त्रमा योगदान गरेका बताइन् । 

कार्यवाहक राष्ट्रपतिले राजदूत तुम्बाहाङ्फेलाई गणतन्त्र कोरियाका लागि नेपालको राजदूतका रूपमा स्वागत गर्दै नेपाल–कोरिया सम्बन्ध प्रवर्द्धनमा सक्दो सहयोग गर्ने बताए । साथै उनले राजदूत तुम्बाहाङ्फेको सफल कार्यकालको कामना पनि गरे । 

कान्तिपुर संवाददाता

Link copied successfully