सहकारी ठगी प्रकरणमा मुछिएकी अञ्जला कोइराला अदालतमा उपस्थित

पुस २४, २०८१

कान्तिपुर संवाददाता

Anjala Koirala, who was involved in the co-operative fraud case, appeared in court

विराटनगर — मोरङको धनपालथान-३ स्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी  सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला बुधबार जिल्ला अदालतमा उपस्थित भएकी छिन् ।

गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहितका प्रतिवादीहरू विरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका रहेकी कोइराला फरार थिइन्।

कोइराला बुधबार कार्यालय समय हुनासाथ अदालतमा उपस्थित भएकी हुन् । जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उनको थुनछेक बयान हुने गरी पेसी तोकिएको छ। अदालतका अनुसार बयान सकिएपछि थुनछेक बहस हुनेछ।

यस सहकारी ठगी प्रकरणमा अध्यक्ष श्यामकुमार रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ । हालसम्म एक जना पुर्पक्षको लागि थुनामा रहेका छन् भने एक जना धरौटीमा रिहा भएका छन् । बाँकी २३ जना प्रतिवादी अझै फरार रहेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully