धनगढी — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय तत्काल सञ्चालन हुन कठिन हुने बताएका छन् । आर्थिक स्रोत र मानव संशाधनलगायतका कुराले विश्वविद्यालय स्थापना गर्न कठिन हुने स्वास्थ्यमन्त्री पौडेलको भनाइ छ ।
‘विधेयक बन्दैमा गेटामा विश्वविद्यालय सञ्चालन हुन सक्दैन,’ मन्त्री पौडेलले भने ‘विश्वविद्यालय निर्माणको कुरामा कसैको असहमति छैन । तर विश्वविद्यालय बन्न आफ्नै प्रक्रिया छन् । लागत अत्यधिक छ । आर्थिक स्रोत, मानव संशाधनलगायत पूर्वाधार आवश्यक हुन्छ । समय लाग्छ ।’
अस्पताल नै सञ्चालन नभएको, मेडिकल पढाइ पनि नभएको अवस्थामा विश्वविद्यालय बन्न कठिन हुने बताउँदै मन्त्री पौडेलले तत्काल अस्पताल सञ्चालन गर्ने र एमबीबीएस पढाइ सञ्चालन गर्नेतर्फ जानुपर्ने बताए । सरकारले ०८० माघ २९ गते कैलालीको गेटामा सहिद दशरथन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा विश्वविद्यालय स्थापना गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित भएर हाल प्रतिनिधिसभामा विचाराधीन रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गेटामा विश्वविद्यालय स्थापनाको प्रक्रिया लामो हुने र लागत पनि अत्यधिक हुने भएकाले तत्काल विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गर्ने गराउनेतर्फ आफ्नो जोड रहेको बताए । ‘असारसम्म एक सय बेडको त जसरी पनि बनाउछौं । सकभर तीन सय बेडकै बनाउछौं,’ मन्त्री पौडेलले भने ‘तीन सय बेडको ओ एन्ड एम गर्दैछौं । वार्षिक ६५ करोडजति खर्च लाग्ने रहेछ । सकेसम्म तीन सय बेडकै अस्पताल सञ्चालन गर्ने प्रयास गर्छौं ।’
त्यससँगै गेटामा एमबीबीएस सञ्चालन गर्न कुनै बाधा नहुने मन्त्री पौडेलको भनाइ छ । ‘छ वटा प्रदेशमा एमबीबीएस पढाइ सञ्चालन भइसकेको छ । सुदूरपश्चिममा मात्रै बाँकी हो,’ उनले भने ‘तीन सय बेड, तीन वर्ष सञ्चालन नभएको भएपनि विशिष्ट अवस्थाका कारणले चिकित्सा शिक्षा आयोगले अहिले नै गेटामा एमबीबीएस सञ्चालनका लागि निर्णय गर्न सक्छ ।’
हाल गेटामा ५० शय्याको अस्पताल स्थापना गरिएको छ । मन्त्री पौडेलले तत्काल १५–२० जना डाक्टर गेटामा पठाउने बताए । अस्पतालमा २४सै घण्टा आकस्मिक सेवा तत्काल सञ्चालन गर्न उनले गेटा अस्पतलामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई निर्देशन गरे । असारमा एमबीबीएस पढाइ सुरु गर्न लागिपरेको उनले बताए ।
गेटामा विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले प्रतिनिधिसभाको बैठकबाट विधेयक पारित गर्न अनुरोध गर्दै मन्त्री पौडेलसमक्ष ज्ञापनपत्र बुझाएको समितिका संयोजक लोकराज पाण्डेले बताए ।
मन्त्री पौडेलले सिंहदरबारपछि देशकै सबैभन्दा ठूलो संरचना गेटा भएको बताए । ‘२० वर्षमा देशमा बनेको सबैभन्दा ठूलो पूर्वाधार गेटा हो,’ उनले भने, ‘कि त सिंहदरबारमा यस्तो पूर्वाधार बनेको छ, कि त गेटामा ।’
