पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन् : अध्यक्ष ओली

पुस २३, २०८१

कान्तिपुर संवाददाता

There are no groups within the party, all are UML: President Oli

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि समूह नरहेको र सबै साथी वर्तमान एमालेको भरभराउँदो पंक्ति भएको बताएका छन् । 

एमाले केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन मन्तव्य राख्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूहहरू नरहेकाले त्यस्ता पूर्वसमूहहरू खोज्नतिर नलाग्न आग्रह गरेका थिए । 

'एमालेमा अब कुनै पनि पूर्वसमूह छैनन् । हामी पूर्वसमूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ,’ अध्यक्ष ओलीले भने, 'हामी यथास्थितिवादी होइनौँ । क्रान्तिकारी हौँ । हाम्रो लक्ष्य समाजवाद हो, समृद्ध नेपाल, सुखी नेपाली हो । हामीमाथि भएका आन्तरिक र बाह्य घेराबन्दीविरुद्ध एक भएर लड्दै हामीले मुलुक र देशको हितमा प्रभावकारी काम गर्न सक्नुपर्छ ।’

स्वस्थ एवं रचनात्मक आलोचना पार्टीभित्र ग्राह्य हुने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने ढंगको गुटबन्दी र अराजकता कदापि स्वीकार्य नहुने अध्यक्ष ओलीले बताए । उनले मुलुकलाई स्थायित्व र समृद्धिको लक्ष्यसहित एमाले र कांग्रेसको  सहकार्यमा बनेको वर्तमान सरकारले देश र जनताका पक्षमा हरसम्भव काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । चुनावदेखि चुनावसम्मको ‘केबल’ सत्ता–यात्रामा नरहेकाले समाजवादको लक्ष्य र गन्तव्यलाई ध्यानमा राखेर काम गरिरहेको ओलीको भनाइ थियो । 

अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालको उपयोग बढाउन र भएका असल कामको प्रचार गर्न आह्वान गरेका थिए । उनले असंलग्न परराष्ट्र नीति र सन्तुलित छिमेक नीतिमा सरकार सदैव अडिग रहेको स्मरण गराउँदै छिमेकी देशको विकासबाट हामीले पनि लाभ लिनुपर्ने बताए । उनले देशको राजनीतिक नक्सामा समेटिएको नेपाली भूमि फिर्ता लिइने बताएका थिए । 

यही पुस २१ गतेदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठक राजनीतिक प्रतिवेदन र संगठन सुधारका योजना पारित गरेर टुंगिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully