काठमाडौँ — मंगलबार बिहानको भूकम्पले जमिन हल्लाउँदा फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोलाकी चुङदाक शेर्पा ओछ्यानमै थिइन् । घर हल्लिन थालेपछि र हल्ला सुरु भएपछि उनी बाहिर निस्किन् । आँगनमा पुग्दासम्म पनि जमिन हल्लिरहेको थियो । कुकुरहरू भुक्न थालिसकेका थिए । त्यहीबेला बस्तीनजिक छोडेका चौंरीहरू दौडिएर घरनजिक आएको चुङदाकले बताइन् ।
भूकम्प आउँदा पूर्वी नेपालका चीनसँग सिमाना जोडिएका धेरै गाउँलेले चुङदाककै जस्तो अनुभव गरे । ‘वस्तुहरू त साह्रै तर्सिए,’ उनले फोन सम्पर्कमा भनिन्, ‘सबै घरका चौंरी र याक आवाज निकाल्दै दौडिए ।’
यस्तै दृश्य घुन्सा र फलेमा पनि देखियो । घुन्साकी तेम्बे शेर्पाले फोन सम्पर्कमा भनिन्, ‘काठको घर साह्रै हल्लायो । भत्कायो होला भनेर ओछ्यानबाट उठेर भाग्यौँ, केही भएको रहेनछ ।’उनले मान्छेभन्दा वस्तुभाउ धेरै तर्सिएको र कुकुहरू निकैबेरसम्म भुकेको सुनाइन् । भूकम्प आउँदा तेम्बेको श्रीमान् चौंरी लिएर जोङ्गिम हिँडेका थिए । ‘उनलाई केही भयो कि भन्ने चिन्ता लाग्यो,’ उनले भनिन् ।
करिब सय वर्ष पुरानो मानिएको घरमा बस्दै आएकी मिक्वाखोला–५, पापुङकी फुर्वा शेर्पाले गाई कराएर हेर्न जाँदा भूकम्प आएको थाहा पाएको बताइन् । उनले सुनाइन्, ‘बिहानैदेखि आलु काट्दै थिएँ । गाई कराएयो । बाच्छा फुक्यो कि भनेर हेर्न जाँदा जमिन हल्लिँदै थियो ।’
