काठमाडौँ — माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन हुनु उचित हुने बताएका छन् । माओवादीको केन्द्रीय समिति बैठकमा मंगलबार अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि बोल्दै निर्वाचनबाट अध्यक्ष चयन हुन उचित हुने धारणा दिएका हुन् ।
‘महाधिवेशन गर्ने कि नगर्ने बहस छ । अध्यक्ष आफैंले महाधिवेशन गर्ने घोषणा गरेर बैठकले पास स्मरण गराउन चाहन्छु । विधानअनुरुप पार्टी बनाउनुपर्छ । तर विधानअनुसार पार्टी नचलेकाले समस्या छ । महाधिवेशनबाट समावेशी नेतृत्व संवभ छ,’ उनले भने, ‘विधान अधिवेशनपछि पार्टीको नीति, निर्माणमा समस्या देखियो । पार्टीको नेतृत्व निर्वाचनबाट संभव छ । त्यसबाट समावेशी नेतृत्व चयन संभव छ । निर्वाचनबाट अध्यक्ष पद पनि चयन हुन्छ ।’
उनले अघिल्लो स्थायी समिति बैठकमा राखेका विषय आगामी महाधिवेशनमा प्रस्तुत गर्ने उल्लेख गर्दै नेतृत्व रुपान्तरण र विचारको समस्या समाधान गरेर जानुपर्ने बताए । ‘पार्टी एकतापछि महाधिवेशनमा जाने संभव छ । अभियानपछि हामी महाविधेशनमा जानुपर्छ । मुख्य समस्या विचारको हो,’ उनले भने, ‘वैचारिक हिसाबले अग्रगामी र नेतृत्व रुपान्तरण नभएसम्म पार्टी बन्न सक्दैन ।’
अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमा आफूले उठाएका समाजवादी मोडेल समेटिएको भन्दै स्वागत गरे । ‘केही कुरा महाधिवेशनमा समाधान गर्ने भन्नु भएको छ । स्वागत गर्न चाहन्छु,’ उनले भने ।
उनले आफूले पदको बार्गेनिङको हिसाबले लिखित मत नराखेको दाबी गरे । ‘नेतृत्व, अभिभावक र पार्टीको अगाडि राख्ने कर्तव्य ठानेर लिखित रुपमा प्रस्ताव राखेको हुँ । यी प्रस्तावहरु बार्गेनिङ गर्नलाई होइन । एउटा बहस भएपछि त्यसले निष्कर्षमा पुग्न भूमिका खेल्नुपर्छ,’ उनले थपे ।
उनले नेताहरुको सम्पत्ति छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्नसमेत माग गरे ।
