दक्ष खेलाडी र प्रशिक्षक तयार गर्न राज्यले लगानी बढाउनुपर्छ : महर

पुस २२, २०८१

कान्तिपुर संवाददाता

State should increase investment to prepare skilled players and coaches: Mahar

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभागका प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालयको आवश्यकता रहेको बताएका छन् ।

सोमबार पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा आयोजित डब्लूआरसी क्रिकेट लिगको उद्घाटन गर्दै नेता महरले दक्ष खेलाडी, प्रशिक्षक र व्यवस्थापन टीम तयार गर्न राज्यले लगानी गर्न आवश्यक रहेको बताए ।

'खेलाडी, खेल प्रशिक्षक, कोचलगायतका दक्ष जनशक्ति उत्पादन गर्न सरकारले खेलकुद विश्वविद्यालय यथासीघ्र स्थापना गर्नुपर्छ। सरकारले अध्ययन कार्यदल त गठन गरेको छ । त्यसले मात्र पुग्दैन,' उनले भने ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको सफलताले नेपाललाई क्रिकेटको स्वर्णिम युगमा धकेलेको उनको भनाइ थियो ।

'नेपालमा पर्याप्त पूर्वाधार र बजेट अभावमा पनि एनपीएल जस्तो लिग सफलतापूर्वक सम्पन्न हुनु ठूलो कुरा हो,' उनले भने, 'यस्ता लिग केन्द्रमा मात्र नभएर प्रादेशिक स्तरमा पनि हुनुपर्छ ।' उनले खेल क्षेत्रका लागि राज्यले लगानी बढाउनुपर्ने र खेल क्षेत्रले नेपाललाई अन्तर्रार्ष्ट्रियस्तरमा पहिचान बनाउन सहयोग पुर्‍याउने बताए ।

कान्तिपुर

Link copied successfully