बिर्तामोडका पूर्वमेयर शिवाकोटी बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा

पुस २२, २०८१

कान्तिपुर संवाददाता

Former mayor of Birtamod Sivakoti in custody pending trial on rape charges

विराटनगर — बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख तथा एमाले नेता ध्रुव कुमार शिवाकोटी नाबालिका करणी आरोपमा सोमवार पुर्पक्षका लागि थुनामा गएका छन् । झापा जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 

१६ वर्षीया घरेलु कामदारलाई जबरजस्ती करणी गरेको आरोपमा शिवाकोटीलाई मंसिर २४ गते प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि उनलाई बीएन्डसी अस्पतालमा राखिएको थियो। शिवाकोटीविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी परेको छ । घरमा काम गर्ने बालिकामाथि बलात्कार आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्वप्रमुख ध्रुवकुमार शिवाकोटीविरुद्ध पीडित परिवारले राष्ट्रिय मानव अधिकार आयोगमा गत आइतबार जाहेरी दिएको थियो । 

आयोगमा दर्ता भएको उजुरी अनुसार पीडित १६ वर्षीया किशोरीलाई शिवाकोटीले विगत तीन वर्षदेखि निरन्तर बलात्कार गर्दै आएको उल्लेख छ । पीडितका काकाहरु मेचीनगर ६ निवासी शिवकुमार पाठक र कनकाई २ निवासी मेघनाथ पाठकले अभियुक्तलाई उन्मुक्ति दिन सिंगो राज्ययन्त्र नै लागेको दाबी गरेका छन् ।   कमजोर आर्थिक अवस्था भएकी बालिकालाई  शिवाकोटीले ८ वर्ष अघि स्कुल पढाइदिने र घरमा काम पनि सघाउने सर्तमा घरेलु कामदारको रुपमा राखेका थिए । 

मंसिर २४ गते शिवाकोटीलाई प्रहरीले काँकडभिट्टाबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोड पठाएको थियो । ११ कक्षामा पढ्दै गरेकी उनी मंसिर २४ गते बिहानै स्कुल पोसाकमै भारततिर जाँदै थिइन् । त्यही क्रममा चेलीबेटी बेचबिखन नियन्त्रणका लागि सीमामा तैनाथ आफन्त नेपालका कर्मचारीले उनलाई नाकामा रोकेर सोधपुछ गर्दा शिवाकोटीको कर्तुत बाहिर आएको थियो ।  

आफन्त नेपालका कर्मचारीका अनुसार किशोरीलाई नाकामा रोकेर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा वुझाइएको थियो । त्यही क्रममा प्रहरीले सोधपुछ गर्दा उनले शिवाकोटीको कर्तुत सार्वजनिक गरेकी थिइन् । गुरुङले भने,‘प्रहरीको सहयोगमा घर पठाउन खोज्दा नमानेपछि उनीमाथिको यौन उत्पीडनको रहस्य खुलेको थियो ।’ 

प्रहरीले पूर्वप्रमुख शिवाकोटोलीलाई किशोरी बुझ्न कार्यालयमै बोलाएको थियो । त्यही क्रममा उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा वुझाइएको र जाहेरी पनि बिर्तामोड प्रहरीमै दिइएको थियो । विभिन्न संघसंस्थाको दबाबका कारण राति १० वजे बल्ल जाहेरी दर्ता गराएको पीडित परिवारले जनाएको छ । तर, अहिलेसम्म जाहेरीको दर्ता नम्बर भने प्रहरीले पीडित प्रहरीलाई दिएको छैन । 

कान्तिपुर

Link copied successfully