काठमाडौँ — वन, वन्यजन्तु तथ जैविक विविधतामा बाधा तथा असर नपुग्नेगरी सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकोप्टर उडान, अवतरण र होभरिङ गर्न खुला भएको छ । निकुञ्जकी वरिष्ठ संरक्षण अधिकृत सुस्मा रानाले सोमबार साँझ ११ वटा हेलिकोप्टर कम्पनीलाई पत्र लेखेर सगरमाथा क्षेत्रमा कानुनले तोकेको राजश्व बुझाइ हेलिकोप्टर उडान, अवतरण र होभरिङ गर्न सबै कम्पनीलाई अनुरोध गरेकी छन् ।
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका तर्फबाट अधिकृत रानाले यसअघि मंसिर २६ गते ‘हेलिकोप्टर उडानले हुने अत्यधिक ध्वनि प्रदूषणका कारण निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्ती तथा वन्यजन्तुको बासस्थानमा असर परेको जनाउँदै व्यावसायिक हेलिकोप्टर उडानलाई पुस १७ गतेदेखि पूर्ण रूपमा रोक लगाएको’ भनी सबै ११ वटा हेलिकोप्टर कम्पनीलाई पत्र लेखेकी थिइन् ।
निकुञ्जको निर्णयअघि मंसिर २२ गते खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पनि पुस १७ (१ जनवरी २०२५) देखि संरक्षित क्षेत्रमा व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेको थियो । निकुञ्ज कार्यालयले हेलिकोप्टर खुला गरेको निर्णयको पत्र हेलिकोप्टर कम्पनीबाहेक नेपालभर उडान अनुमति जारी गर्ने संघअन्तर्गतको प्रमुख निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण, खुम्बु पासाङ ल्हामु गाउँपालिका, भगवतीप्रसाद गुल्म नाम्चेबजार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बबरमहललगायत ८ वटा निकायलाई दिएको छ ।
वायुसेवा सञ्चालक संघका सदस्य कम्पनीहरूले भने हेलिप्याडमा राखिएका अवरोध हटाउनुपर्ने, खुम्बु पासाङ ल्हामु गाउपालिकाले पनि हेलिकोप्टर उडानमा अवरोध हटाएको पत्र पठाउनुपर्ने भनेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले निकुञ्जको विज्ञप्ति सोमबार साँझ अबेर आएकाले मंगलबार कार्यपालिकाको बैठक यसबारे निर्णय गर्ने बताए । ‘हेलिकोप्टर उडानमा लगाइएको रोकबारे निकुञ्जले निर्णय गरेको थियो । सोमबार अबेर विज्ञप्ति प्राप्त भयो । यतिबेला सबै हिँडिसके । यसबारे गाउँपालिकाको धारणासहित भोलिको बैठकले निर्णय लिने छ,’ प्रशासकीय अधिकृत भुसालले खुम्बुस्थित चौंरीखर्कबाट कान्तिपुरसँग टेलिफोनमा भने ।
सोमबार नै सोलुखुम्बु प्रशासनले पनि अनधिकृत व्यक्तिहरूले खुम्बु क्षेत्रका हेलिप्याडमा हेलिकोप्टर अवतरणमा लगाएको प्रतिबन्ध तत्काल हटाउन चेतावनी दिएको थियो । अवैधानिक गतिविधि गर्नेलाई कडा कारबाही गर्ने पनि जिल्ला प्रशासन कार्यालयको चेतावनी छ ।
