५ हजार बचतकर्ता रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा जीबी र रविसहित ३९ विरुद्ध मुद्दा

स्वर्णलक्ष्मीका कुल ५ हजार ६ सय ६९ बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ संगठित रूपमा ठगी भएको निष्कर्षसहित अभियोजन गरिएको छ 

पुस २२, २०८१

मातृका दाहाल, जयसिंह महरा

Case against 39 including GB and Ravi in ​​Swarnalakshmi cooperative fraud involving 5 thousand savers

काठमाडौँ — काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन अभियोगमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल बञ्जाडे जोशीसहित ३९ जनाविरुद्ध ठगी र संगठित अपराधमा मुद्दा दायर भएको छ । 

स्वर्णलक्ष्मीका ६ सय ९० बचतकर्ताले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ ठगी भएको भन्दै जाहेरी दिएका थिए । अनुसन्धानका क्रममा भने स्वर्णलक्ष्मीका कुल ५ हजार ६ सय ६९ बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ संगठित रूपमा ठगी भएको निष्कर्षसहित अभियोजन गरिएको छ । 

काठमाडौं सरकारी वकिल कार्यालयले राई र लामिछानेलाई संयुक्त रूपमा *५ करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ बिगो कायम गरेको छ । जोशीलाई एकल रूपमा ५ करोड ७८ लाख ९६ हजार ४ सय ८० बिगो कायम गरी मुद्दा दायर गरिएको छ । सरकारी वकिल कार्यालयले राईलाई यसबाहेक अरू गैरकानुनी कारोबारमा पनि प्रतिवादी बनाएर बिगो मागदाबी गरेको छ । 

लामिछाने, जोशी र राईसहितका प्रतिवादीविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन गरेको अभियोगमा हाल कास्की जिल्ला अदालतमा पनि ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन छ । यही पुस ७ मा दायर उक्त मुद्दामा कास्की अदालतमा थुनछेक बहस चलिरहेको छ । 

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले गत वर्ष पुस २३ र माघ ४ मा प्रहरीमा जाहेरी दिएको थियो । लगत्तै लामिछाने गृहमन्त्री बनेकाले अनुसन्धान नगरी फाइल नै दबाइएको थियो । संसदीय छानबिन विशेष समितिले पनि अध्ययन प्रतिवेदन तयार पारी सहकारी हिनामिनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको थियो । 

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले राई, लामिछाने र जोशीसहित बचत अपचलनमा संलग्नलाई प्रतिवादी बनाएर आइतबार मुद्दा दायर गरेको हो । प्रतिवादीमध्ये लामिछाने, जोशी, कर्जा उपसमिति सदस्य कमल लामा, निवर्तमान लेखा समिति सदस्य सुनिता नेवा र कोषाध्यक्ष कुमार रम्तेल हाल सहकारी ठगी अभियोगमा कास्की र काठमाडौंमा न्यायिक हिरासतमा छन् । मुख्य अभियुक्त जीबीसहित ३४ जना भने फरार छन् ।

स्वर्णलक्ष्मीका उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, वर्तमान सचिव इरान लामा, सहसचिव कविता तामाङ, जीबी ग्रुप अफ कम्पनी, मन्दारा टुर्स एन्ड एक्सपिडिसन प्रालि र सहकारीका सञ्चालकहरू हेमन्त अधिकारी, रविना रिमाललाई पनि प्रतिवादी बनाइएको छ ।

सहकारीका निवर्तमान अध्यक्ष दीपक लामा, निवर्तमान कोषाध्यक्ष सविना आलेमगर, सञ्चालक भक्तबहादुर भोलन, निवर्तमान सचिव प्रदीप लामा, निवर्तमान सञ्चालक सविता लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, निवर्तमान लेखा समिति सदस्य सुनिता नेवा र निवर्तमान सञ्चालक शान्तिकुमारी सुवेदीलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

यसैगरी कर्जा उपसमिति सदस्य रोमन काफ्ले र कमल लामा, व्यवस्थापक नवीन अछामी, सहकारीका पूर्वअध्यक्ष कल्पनाकुमारी श्रेष्ठ, पूर्वसञ्चालक राजु बराल, जीबी ग्रुप अफ कम्पनी प्रालिका सञ्चालकद्वय विशाल तामाङ र असरफ अली सिद्दिकी, नेचरनेस्ट प्रालि, गोर्खा हर्बल प्रोडक्सन प्रालि, प्यागोडा होम प्रालि, स्प्रिङ उड रियल इस्टेट प्रालि र गोर्खा ग्रुप अफ कम्पनीका सञ्चालक अनन्तबाबु राई, नेचरनेस्ट प्रालिका सञ्चालकद्वय खिमानन्द कँडेल र बल्लभ नेपाल, नेचरनेस्ट प्रालिका सञ्चालक एवं निर्देशक गोकुल श्रेष्ठ, देव दीप एग्रिकल्चर एन्ड एनिमल हस्वेन्ड्री फार्म प्रालि, प्यागोडा होम प्रालि र स्प्रिङ उड रियल इस्टेट, गोर्खा ग्रुप अफ कम्पनीका सञ्चालक भूपेन्द्र राईलाई पनि प्रतिवादी बनाइएको छ । 

अपचलनमा भगवती बालुवाखानी प्रालिका सञ्चालक मुखिया कान्छा गुरुङ, गोर्खा हर्बल प्रोडक्सन प्रालिका सञ्चालक जनक भट्टराई, स्प्रिङ उड रियल इस्टेटका सञ्चालक भगवती बम्जन, न्यु सुलक्स अफसेट प्रिन्टर्सका सञ्चालक देवकुमार तामाङ, गोर्खा ग्रुप अफ कम्पनीका सञ्चालकद्वय शिवप्रसाद पौडेल र वीरबहादुर रानाभाट, सारेगामा रेकर्ड्स प्रालिका सञ्चालक किरण पुडासाई, सुपर सिटी इन्टरप्राइजेज प्रालि र गोर्खा ग्रुप अफ कम्पनीका सेयरधनी पुष्पराज पौडेल, सुपर सिटी इन्टरप्राइजेज प्रालि र गोर्खा ग्रुप अफ कम्पनीका सञ्चालक कल्याणकुमार घिमिरे, सुपरसिटी इन्टरप्राइजेज प्रालिका अध्यक्ष कृष्णबहादुर पोखरेलविरुद्ध पनि मुद्दा दायर गरिएको हो ।

सहकारी ठगीको अनुसन्धानको दायरामा परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहितका थुप्रै आरोपितलाई भने मुद्दामा प्रतिवादी बनाइएको छैन । पछि अनुसन्धानबाट प्रमाणले खुलेबमोजिम हुने गरी भन्दै पुनसहितका सन्दिग्ध आरोपितलाई उन्मुक्ति दिइएको छ ।

अभियोगपत्रअनुसार यामकुमार नाल्बो, सुरज श्रेष्ठ, पुनमकुमार चालिसे, मीरा बम्जन, सञ्जीव गिरी र प्रचण्डमान प्रधानको तीनपुस्तेसहितको यकिन विवरण नखुलेको र सहकारीबाट कर्जा लिई नतिरेका शम्भु गुरागाईं, ओमप्रकाश गुरुङ, लक्ष्मीप्रसाद पौडेल, उमेश गुरुङ, दीपेशकुमार पुन, भीमबहादुर तामाङ, पुष्पा राईलाई समेत मुद्दा चलाइएको छैन ।

सूर्यदर्शन, स्वर्णलक्ष्मी, साहारा चितवन, सानो पाइला, समानता र सुप्रिम सहकारीबाट समेत गोर्खा मिडिया नेटवर्कमा गएको रकमको सम्बन्धमा अनुसन्धान भई राई, लामिछाने र जोशीविरुद्ध यही पुस ७ मा कास्की अदालतमा अभियोग दायर भइसकेकाले उनीहरूको हकमा गोर्खा मिडिया नेटवर्क र अरू ८ वटा कम्पनीले धारण गरेको सम्बन्धमा बिगो कायम गर्न सकिएको भन्दै स्वर्णलक्ष्मी प्रकरणमा भने ठगी र संगठित अपराधमा मात्रै मुद्दा चलाइएको अभियोगपत्रमा उल्लेख छ । 

‘राई, जोशी र लामिछानेको हकमा सम्पत्ति शुद्धीकरण सम्बन्धमा अनुसन्धान गर्दा दोहोरो पर्ने भएकाले संगठित अपराध र ठगीमा मात्रै अभियोग मागदाबी लिइएको’ अभियोगपत्रमा भनिएको छ । स्वर्णलक्ष्मीसम्बन्धी अनुसन्धानमा पछि खुल्न आएमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनबमोजिम हुने भनिएको छ ।

कसुरमा संलग्नविरुद्ध मुलुकी अपराध संहिता र संगठित अपराध निवारण ऐनका दफाअनुसार सजाय मागदाबी गरिएको छ । संहिताको दफा २४९ मा उल्लिखित ठगीसम्बन्धी कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । उक्त कसुरमा ‘कसुरबाट कसैलाई हानिनोक्सानी पुगेको रहेछ भने त्यस्तो कसुरदारबाट बिगो खुलेमा बिगो असुल गरी पीडितलाई भराइदिनुपर्नेछ र बिगो नखुलेको हकमा पीडितलाई मनासिव क्षतिपूर्ति भराइदिनुपर्नेछ’ भनिएको छ ।

त्यस्तै संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ ले निषेध गरेको कसुरमा पनि आरोपितलाई सजाय मागदाबी गरिएको छ । यसमा ‘कसैले आपराधिक समूहको लाभका लागि, आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहका तर्फबाट, आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भई जानी–जानी कुनै गम्भीर अपराध गरेमा निजले संगठित अपराध गरेको मानिने’ भनिएको छ । यो कसुरमा संलग्नलाई दफा ९ मा सजायको व्यवस्था गरिएको छ । 

जन्मकैद वा सोभन्दा बढी सजाय हुने कसुरदारलाई बाहेक बाँकीको हकमा मूल कसुरको थप ५० प्रतिशत सजाय हुने उक्त दफामा उल्लेख छ । आपराधिक समूह स्थापना गरेर कसुर गरेको हकमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । यो कसुरबाट आर्जित सम्पत्ति रोक्का वा जफत हुने पनि संगठित अपराध निवारण ऐनमा उल्लेख छ । 

स्वर्णलक्ष्मी साबिक आभ बहुउद्देश्यीय सहकारी संस्थाका रूपमा २०६३ फागुन १५ मा स्थापना भएको थियो । २०७३ मंसिर ३ मा प्रणोदयनी महाराजगन्ज र कामद बहुउद्देश्य सहकारी न्युरोड मर्ज भई स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी बनेको थियो । काठमाडौं र ललितपुरभित्र कायम हुने गरी यसको कारोबार हुँदै आएको थियो । २०७४ पुस १९ मा काठमाडौंको बौद्धस्थित मण्डला सहकारीलाई गाभेर मुख्य कार्यालय कालीमाटी र शाखा कार्यालयहरू न्युरोड, महाराजगन्ज, बौद्ध र स्वयम्भूमा विस्तार भएका थिए । त्यसपछि बचत संकलन बढाउँदै सहकारीका सर्त र सिद्धान्तविपरीत कारोबार गरी बचत अपचलन गरिएको अभियोगपत्रमा उल्लेख छ । 

सहकारीबाट कसले कति लगे ?

स्वर्णलक्ष्मीबाट सेयरधनी, विभिन्न नाफामुखी कम्पनी र अनधिकृत व्यक्तिसम्मले विभिन्न मितिमा गैरकानुनी रूपमा रकम लगेर अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ । लामिछाने र राईले सहकारीकै रकमबाट सवारी खरिद गरेको पनि उल्लेख गरिएको छ । अभियोगपत्रअनुसार राईले सहकारीबाट ६१ करोड ७१ लाख ३६ हजार ९ सय ६५ रुपैयाँ ४५ पैसा लगेको देखिन्छ । 

त्यस्तै देवेन्द्रबाबु राईले १२ करोड ७६ लाख ६८ हजार ९ सय, कुमार रम्तेलले २५ लाख, हेमन्त अधिकारीले ३ करोड ४८ लाख ८० हजार ८ सय ९ रुपैयाँ ६ पैसा, रविना रिमालले ३० लाख, दीपक लामाले ३ करोड ८४ लाख ४३ हजार ४ सय ६८, प्रदीप लामाले ३ लाख, नवीन अछामीले ८९ लाख ६५ हजार ८ सय ८१ रुपैयाँ ५० पैसा लगेको देखिन्छ ।

गोर्खा मिडिया नेटवर्कले लगेको ५ करोड ७८ लाख ९६ हजार ४ सय ८० रुपैयाँ गोर्खा मिडियाका राई र लामिछानेले संयुक्त रूपमा अपचलन गरेकामा यसैलाई लामिछानेको हकमा बिगो कायम गरी मुद्दा दायर गरिएको हो । जोशीले पनि यति नै रकम लगेकामा बिगो कायम गरी प्रतिवादी बनाइएको छ । 

जीबी ग्रुप अफ कम्पनीले १ करोड ६९ लाख २३ हजार ३ सय ७, हर्बो इन्टरनेसनल प्रालिले १० करोड २७ लाख ९४ हजार ५ सय २२, नेचरनेस्ट प्रालिले १ करोड ९३ लाख २ हजार ६ सय ३, स्प्रिङ उड रियल इस्टेट प्रालिले १ करोड ३३ लाख ६३ हजार ४ सय ३० रुपैयाँ २ पैसा, न्यु सुलक्स अपसेट प्रिन्टर्सले लिएको ५३ लाख १५ हजार २ सय ८५ रुपैयाँ १७ पैसा, गोर्खा ग्रुप अफ कम्पनीले शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, पुष्पराज पौडेलमार्फत ४० लाख ७ हजार ७ सय २३ रुपैयाँ ३ पैसा लगेको उल्लेख छ । 

यसैगरी सारेगम रेकर्ड्सले ५३ लाख १५ हजार २ सय ८५ रुपैयाँ १७ पैसा, सुपरसिटी इन्टरप्राइजेजले लिएको ७३ लाख ८ हजार १ सय ६४ रुपैयाँ ३७ पैसा, मन्दरा टुर्स एन्ड एक्सपिडिसन प्रालिले लिएको २ करोड ३ लाख १ हजार ३ सय ४० रुपैयाँ ६६ पैसा, गोर्खा हर्बल प्रोडक्सन प्रालिले लिएको १ करोड ८२ लाख ८५ हजार ७ सय ४५ रुपैयाँ ८७ पैसा, प्यागोडा होम्स प्रालिले १ करोड १० लाख ७५ हजार ५ सय ७३ रुपैयाँ ४७ पैसा, देव दीप एग्रिकल्चर एन्ड एनिमल हस्वेन्ड्री फार्मले ३ करोड ७८ लाख ७ हजार ९ सय ३६ रुपैयाँ ४८ पैसा, भगवती बालुवाखानी प्रालिले लिएको ७६ लाख ९० हजार ८ सय ९३ रुपैयाँ ५ पैसा स्वर्णलक्ष्मीबाट लगेर संगठित रूपमा ठगीसम्बन्धी कसुर गरेको उल्लेख छ ।

सन् २०२० नोभेम्बर १९ देखि सन् २०२२ जुलाई २४ बीचमा लामिछानेसहितको हस्ताक्षरमा कारोबार हुने बैंक खातामा ८ सय २० थान चेकबाट ४९ करोड १८ लाख ४१ हजार २ सय ४६ रुपैयाँ सहकारीबाट रकमान्तर गरी लगेको पनि अभियोगपत्रमा उल्लेख छ । ‘जाहेरवालाहरूसमेतले बचत गरेको रकम ठगी गरी अवैध रूपमा गोर्खा मिडिया नेटवर्कको बैंक खातामा रकमान्तर गरी/गराई रवि लामिछानेले अवैध रूपमा प्राप्त भएको हो भन्ने कुरा जानीजानी प्रयोग/धारण गरी वित्तीय कारोबार गरेको देखिन्छ,’ अभियोगपत्रमा भनिएको छ ।

यसैगरी लामिछानेसहित अन्य सञ्चालकले गोर्खा मिडियाबाट ग्लोबल आईएमईको खाताबाट सन् २०२० सेप्टेम्बर १३ देखि २०२४ फेब्रुअरी १४ सम्म १२ सय ३७ वटा चेकमार्फत ५९ करोड ४९ लाख ४४ हजार ९ सय ५५ रुपैयाँ र गोर्खा मिडियाकै सिद्धार्थ बैंकको खाताबाट २०२० सेप्टेम्बर ८ देखि २०२२ सेप्टेम्बर २ सम्म २ करोड १९ लाख ९७ हजार ३० रुपैयाँ कारोबार गरेको पनि उल्लेख छ ।

प्रतिवादीहरूले आफूअनुकूल मानिसहरूका नाममा कम्पनी स्थापना गरी त्यसमा लगानी गर्न पेस्की देखाई कृत्रिम ऋणी बनाएर कानुनविपरीत हुने कर्जा लिएको अभियोगपत्रमा उल्लेख छ । ‘बचत रकम नभएको खातामा ब्याज खर्च देखाई आफूखुसी मास्ने, फर्जी ऋणी खडा गरी उक्त रकमलाई आम्दानी बाँध्ने, बिलबिनाको खर्च लेखांकन गरी खर्च देखाउने, अन्तरसहकारी कारोबार देखाई बचत हिनामिना गर्ने, बाँडफाँट गर्न नमिल्ने जगेडा कोषबाट रकम निकासी गरी खर्च गर्ने वा लाभांश बाँडफाँट गर्नेजस्ता सहकारी ऐन, नियम र मुलुकी अपराध संहिताविपरीतको कार्य भएको पुष्टि हुन आयो,’ अभियोगपत्रमा भनिएको छ । 

जीबीलाई देखाएर उम्किने प्रयास

लामिछाने र जोशीले सहकारी ठगीमा राईलाई देखाएर उम्किने प्रयास गरेका छन् । लामिछानेले गोर्खा मिडियाको सबै आर्थिक कारोबारको दायित्व र जिम्मेवार राई भएको बयान दिएका छन् । उनले आफू समाचार र कार्यक्रम उत्पादनमा मात्रै रहेर काम गरेको भन्दै अनियमितताको सबै जिम्मेवार राई रहेको जिकिर गरेका छन् । जोशीले पनि जीबी र रवि यसको सबै जिम्मेवार भएको भन्दै आफू निर्दोष रहेको बयान दिएका छन् । 

‘स्वर्णलक्ष्मीको जीसीएस बैंकिङ सफ्टवेयर सिस्टममा रहेको भनी देखाइएको विवरणमा के–कुन कारणले को–कसले के–कस्तो आधारमा मेरो नाम उल्लेख गर्‍यो, त्यसबारे मलाई जानकारी छैन । मैले उल्लिखित सहकारीमा ऋण माग गरेको छैन, ऋण माग गर्न कुनै फाराम भरेको छैन,’ लामिछानेले बयानमा भनेका छन् । लामिछानेले सहकारीमा आफ्नो औंठाछाप, फाराम, निवेदन केही पनि नरहेको इन्कारी बयान दिएका छन् । 

गोर्खा मिडियामा सेयर दिने प्रतिबद्धता, सम्झौता र सहमतिबमोजिम राईले कुन स्रोतबाट रकम जुटाए भन्ने आफूलाई जानकारी नरहेको लामिछानेले जिकिर गरेका छन् । ‘नयाँ कम्पनी भएका कारणले र लगानीकर्ताको व्यापार–व्यवसाय सात वटा देशमा भएका कारणले उनको व्यस्तताका कारण टेलिभिजन खोल्न ढिला नहोस् भन्ने उद्देश्यले म गोर्खा मिडिया नेटवर्कका खाताअन्तर्गतका चेकहरूको हस्ताक्षरकर्ता थिएँ, लगानीकर्ता वा वित्तीय जिम्मेवारीमा कहिले पनि थिइनँ,’ लामिछानेले भनेका छन् ।

स्वर्णलक्ष्मीलगायतका कुनै पनि सहकारीबाट आफ्नो कार्यकालमा ऋण वा रकम ल्याउने सहमति वा बोर्ड निर्णय नभएको जिकिर छ । ‘मेरो कार्यकालमा मात्रै राईबाट लगभग २२ करोड ऋण आएको देखिन्छ । व्यक्तिगत रूपमा कम्पनीमा उनले ल्याएको उक्त ऋणको वित्तीय व्यवस्थापन लगानीकर्ताले गर्न पाउने नै भए र त्यस्तो व्यवस्थापनको जवाफदेहिता पनि लगानीकर्ता गितेन्द्रबाबु राईकै हुन्छ,’ लामिछानेले जिकिर गरेका छन् ।

जोशीले पनि स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा रकम ल्याइएको बारे जानकारी नभएको बयान दिएका छन् । ‘स्वर्णलक्ष्मी सहकारीको कुनै सेयर सदस्य र उक्त सहकारीमा आफूले कुनै किसिमको खाता नखोलेको हुँदा मलाई यकिन जानकारी भएन,’ जोशीले बयानमा भनेका छन्, ‘सोबारे प्रतिवादी गितेन्द्रबाबु राई र रवि लामिछानेलाई नै जानकारी होला ।’

*सच्याइएको ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully