काठमाडौँ — ७२ जना यात्रु बोकेर काठमाडौंबाट सोमबार बिहान भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर विमानको बायाँ इन्जिनमा खराबी देखिएको छ ।
बुद्ध एयरका एक उच्च अधिकारीका अनुसार, प्राविधिकहरूले गरेको प्रारम्भिक जाँचमा अल्फा जुलियट सेरा रजिस्टर नम्बर भएको एटीआरको बायाँ इन्जिनको सकेन्डरी ब्लेड ड्यामेज भएको देखिएको छ । नागरिक उड्डयन प्राधिकरणकf नियमअनुसार, यो विमान तत्काल ग्राउन्डेड गरिएको छ ।
‘इन्जिन निर्माता कम्पनी प्र्याट एन्ड ह्विटनीको निगरानीमा प्राविधिकहरूले छलफल गरीरहेका छन्,’ बुद्धका एक इन्जिनियरले भने,‘जहाजबाट यो इन्जिन झिकेर मर्मत गर्न पठाउनुपर्ने देखिन्छ । इन्जिनका सबै प्यारामिटरहरू जाँच्न बोरस्कोप जाँच गर्नुपर्ने छ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, सोमबार बिहान १०:३७ बजे भद्रपुरका लागि उडेको बुद्धको एटीआर काठमाडौंबाट ८० किलोमिटर पूर्व पुगेपछि इन्जिनमा समस्या देखिएको कारण देखाउँदै काठमाडौं फर्किएको थियो ।
बुद्धका पाइलटले बायाँ इन्जिनको पर्फर्मेन्स जति हुनुपर्ने हो त्यति नभएको देखेपछि उक्त इन्जिनलाई बन्द गरेर जहाजलाई काठमाडौं फर्काएका थिए । यस्तो अवस्थामा विमानले आपत्कालीन अवस्था घोषणा गर्नुपर्ने नियमअनुसार ‘फुल इमर्जेन्सी डिक्लियर’ गरेका थिए
। पाइलटले आपत्कालीन अवस्था घोषणा गरेका आधारमा काठमाडौं विमानस्थलले यो विमानलाई प्राथमिकता दिई अवतरण गराएको थियो । बुद्धले उक्त उडानका यात्रुलाई अर्को विमानमा राखेर भद्रपुर पठाएको थियो ।
