अख्तियार विधेयकबारे राज्यव्यवस्था समिति सभापति खतिवडा र सांसद थानीबीच भनाभन

पुस २२, २०८१

कान्तिपुर संवाददाता

A discussion between State System Committee Chairman Khatiwada and MP Thani about the authority bill

काठमाडौँ — राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र कांग्रेसकै सांसद हृदयराम थानीबीच भनाभन भएको छ । समितिको सोमबारको बैठकमा सांसद थानी बोलिरहेको बेला सभापति खतिवडाले अवरोध गरेपछि भनाभन भएको हो । 

समितिमा प्राप्त उजुरीहरूबारे छलफल भइरहेको छ । समितिमा सभापति खतिवडाले सांसद थानीलाई बोल्नका लागि समय दिएका थिए । थानीले समितिमा प्राप्त उजुरीहरू कसरी पार लगाउने र लामो समयदेखि थन्किएका विधेयकलाई कसरी कानुनको रूप दिने भनेर धारणा राखिरहेका थिए । 

सांसद थानीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक पनि संसदीय समितिमा आईसीयूमा पुगेको भनेपछि सभापति खतिवडा बोल्न थालेका थिए । सभापति खतिवडाले उक्त विधेयक आईसीयूमा नपुगेको बताए । 

भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकलाई टुंगोमा पुर्‍याउनका लागि थानीको नेतृत्वमा उपसमिति चयन गरिएको थियो ।

उक्त समितिले दुवै विधेयका सर्वसम्मतिले प्रतिवेदन तयार गरेको थियो । तर, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकको प्रतिवेदन स्वीकार गरेर समितिबाट विधेयक नै पास गरिसकेको छ भने सँगै आएको अख्तियार विधेयकलाई अगाडि बढाइएको छैन ।

सोही विषयमा थानीले प्रश्न गरेका थिए । थानीले अख्तियार विधेयकबारे बोल्न थालेसँगै सभापति खतिवडाले भने 'आज उजुरीबारे बोल्नुस्, अख्तियार विधेयक आईसीयूमा गएको छैन' भनेका थिए । त्यसपछि थानीले बोल्न पाउनुपर्ने बताएका थिए । बोल्नका लागि समय दिएपछि आफूलाई यसअघि पनि सभापतिले बारम्बार अवरोध गर्दै आएको भनेर थानीले जवाफ फर्काएका थिए ।

एमाले सांसद राजेन्द्र राईले सभापति खतिवडालाई सांसद बोलिरहेको बेला नरोक्न भनेका थिए । त्यसपछि समिति सभापति खतिवडाले थानीलाई बोल्न भनेका थिए । तर, थानीले आफू बोलिरहेको बेला बारम्बार अवरोध हुँदै आएको भन्दै थप विषय राख्न अस्वीकार गरे । 'म पनि यो समितिको सभापति भएको मान्छे हो । त्यो कुर्सीमा बसेको मान्छे हो । यो समिति तपाईँकै रहेछ । तपाईँ नै बोल्नुस्,' थानीले भने । 

त्यसपछि एमाले सांसद कृष्णगोपाल श्रेष्ठले सभापति खतिवडाले बीचमा बोल्न  नहुने र समितिलाई राम्रोसँग चलाएर जानुपर्ने बताएका थिए । सांसदले बोल्दा सभापतिले अवरोध गरेमा विषयवस्तुमा छलफल हुन नसक्ने श्रेष्ठको भनाइ थियो । सांसद राईले भने थानीको धारणामा समर्थन जनाएका थिए ।  

अख्तियार विधेयकलाई लिएर सत्तारुढ दलका शीर्ष नेताहरूले असन्तुष्टि जनाएपछि रोकिएको बताइएको छ ।

कान्तिपुर

Link copied successfully