एमाले अध्यक्ष ओली भन्छन् : कीर्तिपुरजस्तो ठाउँमा अपेक्षित परिणाम नआउनुलाई गम्भीरतापूर्वक लिनुपर्छ 

सहरिया जनमतमा अपेक्षित आकर्षण नबढेकोमा पनि पार्टीले समीक्षा गर्नुपर्ने ओलीको भनाइ

पुस २१, २०८१

कान्तिपुर संवाददाता

UML President Oli says: The failure of expected results in a place like Kirtipur should be taken seriously

काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गत मंसिर १६ मा सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा पार्टीले अपेक्षित नतिजा हासिल गर्न नसकेको स्वीकार गरेका छन् । एमाले अध्यक्ष ओलीले केन्द्रीय कमिटीको आठौं बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सहरिया जनमतमा पार्टीप्रति आकर्षण नबढेको बताएका हुन् । 

स्थानीय तहको उपनिर्वाचनमा एमालेले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र ५ वडाध्यक्षसहित ८ स्थानमा जित हासिल गरेको थियो ।  मंसिर १६ गते स्थानीय तहमा रिक्त ४२ स्थान (थप दुई जिल्ला समन्वय समिति समेत) मा उपनिर्वाचन भएको थियो । एमालेले जितेका ७ वटा वडा रिक्त भएको अवस्थामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसमेत समग्रमा ८ स्थानमा हासिल गरेको विजय  उपलब्धिपूर्ण र सकारात्मक परिणाम भएको अध्यक्ष ओलीको प्रतिवेदनमा उल्लेख छ ।

कीर्तिपुरमा अपेक्षित परिणाम हासिल गर्न नसकेकोमा भने पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने अध्यक्ष ओलीले बताएका छन् । ' विगतमा जितेका वडामध्ये एउटामा मात्र विजय कायम हुनु (यद्यपि यो प्रवृत्ति अन्य दलको हकमा पनि उत्तिकै देखिएको छ), कीर्तिपुर जस्तो ठाउँमा अपेक्षित परिणाम हासिल नहुनु र सहरिया जनमतमा अपेक्षित आकर्षण बढ्न नसक्नुलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ,' ‌ओलीको प्रतिवेदनमा उल्लेख छ ।

कीर्तिपुरमा एमालेले चुनाव जित्ने अपेक्षा गरे पनि तेस्रो स्थानमा रहेको थियो । कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका थिए ।  कांग्रेस उम्मेदवार डंगोलले ५ हजार ३ सय ३४ मत ल्याई विजयी भएका थिए । उनी ७ सय ७९ मतान्तरले विजयी भए ।डंगोलका निकटतम् प्रतिस्पर्धी माओवादीका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत ल्याए । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत ल्याए ।

त्यस्तै एमाले अध्यक्ष ओलीले स्थानीय तह उपनिर्वाचन परिणामलाई लिएर माओवादी केन्द्रले भ्रामक सन्देश सम्प्रेषण गर्ने प्रयास गरिरहेको पनि बताएका छन् । माओवादीले लोकप्रिय मत ह्वात्तै बढेको भनेर प्रचार गरिरहेको पनि ओलीको भनाइ छ । 'माओवादी केन्द्रले ८ बाट बढाएर ११ स्थानमा विजय हासिल गरेको सत्य हो, तर हिजो ६ दलीय गठबन्धनका बेला आफूले उम्मेदवार नै नउठाएको र त्यसै कारण शून्य मत भएको ठाउँमा प्राप्त भएको मत जोड्दा मात्र उसको मत बढेको देखिएको हो,' ओलीले राजनीतिक प्रतिवदेनमा भनेका छन् । 

यस्तो छ केन्द्रीय कमिटी बैठकमा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन  

कान्तिपुर

Link copied successfully