स्याङ्जा — स्याङ्जा कारागारमा बनाइएका मुढा चीन निर्यात गरिने भएको छ । चीनको एक संस्थाले जिल्ला कारागारसँग झन्डै ३ हजार मुढाको माग गरेको छ । सोही मागअनुसार तत्काल १ हजार ५ सय मुढा चीन निर्यात गर्न लागिएको जिल्ला कारागार स्याङ्जाका निमित्त जेलर दिनेश शर्माले जानकारी दिए ।
‘मुढा बनाउने समय कम भयो,’ जेलर शर्माले भने, ‘तत्काल पहिलोपटक १५ सय मुढा निर्यात गर्छौं । त्यसपछि बाँकी १५ सय मुढा पठाउनेछौँ ।’ मुढा लिनका लागि चिनियाँ संस्था कारागारमै आउने पनि कारागार प्रशासनले जनाएको छ ।
जिल्ला कारागारमा अहिले ६ महिलासहित १ सय ४७ जना कैदीबन्दी छन् । १ सय ३५ पुरुष कैदीबन्दीले मुढा बनाउने काम गरेको निमित्त जेलर शर्माले बताए । ‘महिला जम्मा ६ जना हुनुहुन्छ । उहाँहरूले मुढा बनाउनुहुन्न,’ उनले भने, ‘पुरुष साथीले मात्र मुढा बनाउनुभएको छ । ४/५ जनाले दैनिक खाना, खाजा बनाउने काम गर्नुहुन्छ भने बाँकी १ सय ३५ जनाले बिहानदेखि बेलुकासम्म मुढा बनाउने काम गर्नुहुन्छ । बिहानदेखि बेलुकासम्म धमाधम मुढा बनाइए पनि मागबमोजिम सम्बोधन गर्न सकिएको छैन ।’
जिल्ला कारागारभित्र एउटा समिति गठन गरिएको छ । उक्त समितिले नै मुढा बनाउन आवश्यक पर्ने सामान उपलब्ध गराउँछ ।
मुढा बनाउँदा लाग्ने खर्च, सामग्री र आम्दानी हिसाबकिताब गर्न कैदीबन्दी र अन्य कर्मचारीसहित समिति बनाइएको जेलर शर्माले बताए ।
उक्त समितिले नै मुढाको मूल्य निर्धारण गर्छ । सामान खरिद गर्नेदेखि मुढाको मूल्य निर्धारण गर्ने र बिक्री गरेपछि आउने आम्दानीलाई कोष बनाएर जम्मा गरिन्छ । कोषमा जम्मा भएको रकम कैदीबन्दीलाई बाँडफाँट गरिनेछ ।
चीन निर्यात गरिने मुढाको मूल्य प्रतिगोटा ४ सय रुपैयाँ निर्धारण गरिएको छ । एउटै साइजमा एकै प्रकारका मुढा बनाइएको छ । चोया लामो पारेर बनाइएका मुढा फराकिलो गरी बाँधिएको छ । चीनबाट माग गरिएअनुसार मुढा बनाइएको कारागार प्रशासनले जनाएको छ ।
अन्य समयमा बनाइएका मुढा जिल्लाभित्र नै खपत हुन्छन् । मुढाका लागि बजार समस्या नरहेको जेलर शर्माले बताए । ‘जिल्लाभित्रै बिक्री हुने मुढाका लागि आकार र प्रकार फरक-फरक हुन्छन्,’ उनले भने, ‘चार वटा साइजमा मुढा बनाइन्छ । ती मुढाको मूल्य पनि फरक-फरक छ ।’
