मुलुकभरि जलपन्छी गणना सुरु

गणनामा ४ सयभन्दा बढी स्वयंसेवक, नेचरगाइड र चराविद् परिचालित, ८० भन्दा बढी ठाउँका ताल–पोखरी, खोला–नदी, सिमसार क्षेत्र, पन्छी आरक्षलगायतमा गणना गरिँदै 

पुस २०, २०८१

मनोज पौडेल

Waterfowl count has started across the country

कपिलवस्तु — एउटा छेउमा देखिएको चरा एकैछिनमा कहाँ पुग्छ, पत्तै हुँदैन । चराको स्वभाव नै फुत्तफुत्त उड्ने चञ्चले हुन्छ । यतिबेला चिसो मौसम छल्न उच्च हिमाली भेगबाट उड्दै जलपन्छी तराई र पहाड झरेका छन् । यही मौकामा मुलुकभर जलपन्छीको गणना थालिएको छ ।

शनिबार सुरु भएको चरा गणनामा विशेष सीप र ज्ञान भएका ४ सयभन्दा बढी स्वयंसेवक, नेचरगाइड र चराविद् मुलुकभर परिचालित भएका छन् । पानी र सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन थालिएको गणना माघ ६ सम्म चल्नेछ । वेटल्यान्ड इन्टरनेसनलको संयोजन र नेपाल पन्छीविद् संघको समन्वयमा भइरहेको गणनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र पन्छी संरक्षण संघ (बीसीएन) ले सहयोग गरेका छन् । 

जलपन्छीको गणना कोशीदेखि पश्चिममा शुक्लाफाँटासम्म हुन्छ । यस्तै दक्षिणको जगदीशपुर पन्छी आरक्षदेखि उत्तरमा रारा तालसम्म गणना गर्ने तयारी छ । पहिलो दिनबाटै काठमाडौं उपत्यकाको मनोहरा र बागमती खोला तथा टौदह पोखरीमा चराविद् र नेचर गाइडले गणना थालेको पानी–चरा गणना राष्ट्रिय संयोजक लक्ष्मण पौड्यालले बताए । उनका अनुसार शनिबारै पूर्वको कोशीटप्पु वन्यजन्तु आरक्ष र सुदूरपश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना सुरु भएको छ । ‘१८ वटा क्षेत्रमा विभाजन गरी ८० भन्दा बढी ठाउँका ताल–पोखरी, खोला–नदी, सिमसार क्षेत्र, पन्छी आरक्षलगायतमा गणना गर्ने तयारी छ,’ उनले भने, ‘पोखरामा मात्रै १५ स्थानमा चरा गणना गरिनेछ ।’ चितवनलाई पूर्वी, पश्चिमी र मध्य तीन भागमा विभाजन गरी चरा गणना थालिएको छ ।

वरिष्ठ चराविद् हेमसागर बरालले आफ्नो अनुकूलता मिलाएर सबै क्षेत्रमा गणना गरिने बताए । चरा चिन्ने विज्ञको नेतृत्वमा अन्य सहभागीको सहयोगले चरा गणना गरिन्छ । पानी, तालतलैया, सीमसार र आसपास क्षेत्रमा आहारविहार गर्ने, प्रजनन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने चराका प्रजातिलाई पानी–चरा अथवा जलपन्छी भनिन्छ । सन् १९८७ देखि नेपालमा पनि हुँदै आएको यो गणनामा जलपन्छीका प्रजाति, तिनको संख्या र बासस्थानमा देखिएका समस्याजस्ता जानकारीको अभिलेख राखिन्छ ।

गणनाले दिने नतिजाले चरा संरक्षणका कार्यक्रम र नीति बनाउन सहयोग पुर्‍याउने चराविद् कृष्णप्रसाद भुसालले बताए । ‘गणनाबाट राम्रो र कमजोर पक्ष थाहा हुन्छ,’ उनले भने, ‘जलवायु परिवर्तनको असर र पारिस्थितिकीय प्रणाली जाँच्न पनि सहयोग पुग्छ ।’ गणनाको रिपोर्ट वैशाखमा मनाइने वन्यजन्तु सप्ताहका बेला सार्वजनिक गरिनेछ । 

जलपन्छी आगमन घट्ने क्रम बढेकाले बेलैमा सचेत हुनुपर्ने चराविद् हठन चौधरीले बताए । उनका अनुसार सीमसार क्षेत्र संकुचित र नासिँदै जाँदा त्यसमा आश्रित हिउँदे जलपन्छी घट्दै गएका छन् । उडान मार्गमा हुने अवरोध र बढ्दो रासायनिक मलको प्रयोगले पनि जलपन्छी जोखिममा पर्दै गएको चौधरीले बताए । ‘खेतमा विषादीको प्रयोग र जलवायु परिवर्तन समस्या बनेको छ,’ उनले भने, ‘असुरक्षित बिजुलीका तार र अवैध चोरी/सिकारले पनि समस्या थपेको छ ।’ Waterfowl count has started across the country

बसाइँसराइ गरी आउने चरा लामो दूरीको यात्राले थकित हुने तथा आश्रयस्थल नयाँ हुने भएकाले प्राकृतिक तथा मानवीय सिकारको अत्यधिक जोखिम बढेको चराविद्हरू बताउँछन् । गणनाले पानी–चराको अवस्था खतराउन्मुख देखाएको छ । नेपालमा पाइने विश्वका दुर्लभ चरामध्ये १३ प्रजाति जलपन्छी नै छन् । नेपालमा ८ सय ९७ प्रजातिका चरा पाइएको अभिलेख छ । त्यसमध्ये १ सय ५० भन्दा बढी हिउँदमा र ६० बढी ग्रीष्ममा आगन्तुक चरा छन् । हिउँदमा मुख्यतयाः हाँस, जलेवा, चखेवा, डुबुल्की चरा र गंगाचिललगायतका प्रजातिका आउँछन् । 

नेपालमा ४ देखि ५ हजार माइल उडेर चरा आउँछन् । ती चरा सातादेखि १० दिनमै आइपुग्छन् । ‘कतिपय चरा सिधै उडेर ३/४ दिनमै आइपुग्छन्,’ चराविद् बरालले भने, ‘कतिपय रोकिँदै, बीचमा बास बस्दै आइपुग्छन् ।’ यता आउँदा ती चराले गन्तव्यसम्म पुग्ने दिशा र बाटो पहिचानका लागि सूर्य तथा ताराको सहारा लिने गरेको चराविद् डीबी चौधरीले बताए । ‘नदी, भौगोलिक शृंखला, चुम्बकीय दिशा पनि हेर्छन् । चराले बसाइँसराइका बेला प्रयोग गर्ने बाटोलाई फ्लाई वे भनिन्छ,’ उनले भने, ‘विश्वमा यस्ता बाटा ८ वटा छन् । तीमध्ये नेपाल मध्य एसियाको बाटोमा पर्छ ।’

पानी–चरा मुख्य रूपमा कुन क्षेत्रमा बस्छन् भन्ने जानकारी भएपछि निश्चित दूरीबाट गणना गरिन्छ । अगाडि देखिने चराको संख्या र प्रजाति टिपोट गरिन्छ । कुनै चराले गणकलाई पछाडिबाट नाघेर अगाडि जान्छ, संख्या नदोहोरियोस् भनेर उनीहरू त्यसलाई घटाउँछन् । चराको रङ, बनोट र आवाजका बारेमा जानकारी भएका चराविज्ञ एवं नेचरगाइड दूरबिन लिएर गणनामा खटिन्छन् ।

चराविद्हरूका अनुसार उत्तरी ध्रुवमा हिमपात सुरु भएसँगै चरा बसाइँ सर्न थाल्छन् । बढी चिसोमा आहारविहारमा समस्या हुने भएकाले जीवनयापन कठिन बन्छ । त्यही भएर हिउँदयामको बढ्दो जाडो छल्न चरा यता आउँछन् । यता आइपुगेका कतिपय चरा बच्चा कोरली हुर्काएर फर्कन्छन् । उत्तरी मुलुक रुस, चीन, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट हिउँदे आगन्तुक चरा नेपालमा आउने गर्छन् । मध्य एसियाका तुर्कमिनिस्तान, किर्गिस्तान र साइबेरियाबाट पनि यहाँ चरा आउँछन् ।

मनोज पौडेल

Link copied successfully