बालविवाह मुक्त अभियानमा भारतीय अधिकारकर्मीको साथ

पुस १८, २०८१

कान्तिपुर संवाददाता

With Indian rights activists in the child marriage free campaign

काठमाडौँ — बालविवाह अन्त्यका लागि नेपालमा सञ्चालित अभियानमा भारतीय बालअधिकारकर्मीले समेत साथ दिएका छन् । ‘बालविवाह मुक्त नेपाल’ अभियान थालनीका क्रममा आयोजित मैनबत्ती प्रज्वलन र मार्चपास कार्यक्रममा नेपाल र भारतका बालअधिकारकर्मी, बालबालिका र अभियन्ता सहभागी भएका छन् । 

‘जस्ट राइट फर चिल्ड्रेन’ (जीआरसी) र ‘ब्याकवार्ड सोसाइटी एजुकेसन’ (बेस) को सहयोगमा नेपाल सरकारले बालविवाह मुक्त नेपाल अभियान सुरु गरेको हो ।

दिगो विकासको लक्ष्यअनुसार जीआरसी र बेसले आगामी सन् २०३० सम्ममा नेपाललाई बालविवाह अन्त्य भएको घोषणा गर्न कार्ययोजना बनाएका छन् । नेपालमा स्थानीय स्तरबाटै बालबालिकाको अधिकार, संरक्षण र कानुनी व्यवस्थाका बारेमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने तयारी छ ।

यस अभियानमा सरकारी संयन्त्रसँग सहकार्य गर्दै जीआरसी र बेसले सातै प्रदेशमा जतिसक्दो बढी प्रतिबद्धता संकलन गर्ने तयारी छ । अभियानको सुरुवातका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बालविवाह मुक्त अभियानलाई समर्थन जनाउँदै बालविवाहविरुद्ध प्रतिबद्धता जाहेर गरिसकेका छन् । 

जीआरसीका संस्थापक भुवन ऋभूले बालबालिकाको संरक्षण र सम्वर्द्धनका लागि विशाल जनसमर्थन र प्रतिबद्धता आवश्यक रहेको बताए ।

‘सम्पूर्ण नागरिक समाज तथा सामाजिक संघसंस्था र सरकारको उत्तरदायित्वबाट नेपालले बालविवाह मुक्त राष्ट्रको लक्ष्य भेट्टाउन सक्नेछ,’ उनले भने, ‘त्यसबाट हरेक बालबालिकाको स्वास्थ्य, शिक्षा र सुरक्षा सुनिश्चित पनि हुनेछ ।’

नेपालको कानुनमा विवाह गर्न केटा र केटी दुवैका लागि २० वर्षको उमेर तोकिएको छ । तर धेरै बालविवाह हुने देशमध्येमा नेपाल दक्षिण एसियामा बंगलादेश र भारतपछि तेस्रो स्थानमा छ । 

कान्तिपुर

Link copied successfully