काठमाडौँ — कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार आरोप लगाउने र प्रतिस्पर्धीलाई खुइल्याउने हतियार बनेको बताएका छन् । उनले भ्रष्टाचारका कुन-कुन काण्डको फाइल खोल्ने हो भन्ने विषयमा संसदीय समितिमा खुला छलफल हुनुपर्ने प्रस्ताव गरेका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा महामन्त्री थापाले आरोपित गर्नका लागि मात्रै भ्रष्टाचारका विषयमा बोल्न नहुने बताए ।
'भ्रष्टाचार आरोपित गर्न, खुइल्याउन प्रयोग गर्ने हतियार भयो,' उनले भने, 'अर्को पूर्वप्रधानमन्त्री पनि बोलाऔँ, भ्रष्टाचारका कुन-कुन काण्डको फाइल खोल्ने यहि समितिमा छलफल गरौँ ।'
गिरिबन्धु जग्गा, शेरा दरबार, क्यान्टोनमेन्ट कुन काण्डको फाइल खोल्ने हो तयार हुनुपर्ने र त्यसबारे संसदीय समितिमा छलफल गर्नुपर्ने थापाको भनाइ थियो । 'सरकारमा गएपछि तेरो यो फाइल खोलिदियौँ भन्ने भयो, त्यसैले संसदीय समितिमा नै छलफल गरौं,' थापाले भने ।
संसदमा विधेयक पेस गर्दा को सत्ता पक्ष कि प्रतिपक्ष भन्ने कुरा बिर्सिने अवस्था रहेको पनि थापाको भनाइ थियो ।
भ्रष्टाचार छानबिन निश्चित समयभित्र गरिसक्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समय दिनुपर्ने थापाको भनाइ थियो ।
कानुन निर्माण नै गरेर पूर्वप्रधानमन्त्रीहरूदेखि सार्वजनिक ओहदामा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने थापाको भनाइ थियो । 'कानुन नै बनाऔँ, पूर्वप्रधानमन्त्रीदेखि अहिलेका सबै सार्वजनिक ओहदाका व्यक्तिमाथि छानबिन गरौं,' थापाले भने ।
