बुटवल — खानेपानीमन्त्री प्रदीव यादवले बुटवलको झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण सम्पन्न गरी बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बुटवल खानेपानी सुधार आयोजना अन्तर्गत नेपाल खानेपानी संस्थानबाट निर्माण भइरहेको झुम्सा खोला खानेपानी आयोजनाको मंगलबार बाध स्थलको प्राविधिक टोलीसहित स्थलगत निरीक्षण गर्दै मन्त्री यादवले बुटवलको खानेपानी समस्या समाधान गर्ने बताए ।
खानेपानीमन्त्री यादवले भने, 'झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण सम्पन्न गरी यहाँका नागरिकहरूलाई शुद्ध अनि सफा पानी खुवाउने सरकारको लक्ष्य अनुसार काम भइरहेको छ ।'
झुम्सा खोला खानेपानी आयोजनाका सरोकारवालसँग विस्तृत छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्दै मन्त्री यादवले नागरिकलाई परेका खानेपानीका समस्या समाधानका लागि आफू हरसमय खटिरहेको बताए ।
बुटवलमा दैनिक तीन करोड लिटर खानेपानीको माग रहे पनि अहिले जम्मा दुई करोड २५ लाख लिटर पानी वितरण हुँदै आएको र झुम्सा परियोजना पूरा भएमा बुटवल उपमहानगरपालिकाका सबै वडामा २४ सै घण्टा शुद्ध खानेपानी उपलब्ध हुने मन्त्री यादवले बताए ।
झुम्साबाट तीन करोड २० लाख लिटर पानी थप गरी करिब तीन लाख जनसंख्या लाभान्वित हुने गरी दैनिक करिब पाँच करोड ९० लाख लिटर पानी उत्पादन तथा वितरण गर्ने लक्ष्य राखिएको सो कार्यक्रममा मन्त्री यादवले जानकारी दिए ।
करिब ६ अर्बको लगानीमा झुम्सा खानेपानी आयोजना सुरु भएको झण्डै तीन दशक पुग्न लागेको बताइएको छ । विसं २०५२/०५३ मा पाल्पाको सिस्ने खोलाबाट बुटवलमा पानी ल्याउने योजनासहित झुम्सा खानेपानी आयोजना सुरु भएको नेपाल खानेपानी संस्थानले जनाएको छ ।
केही वर्षको प्रयासका बाबजुद आयोजना असफल भएपछि फेरि विसं २०६४ सालमा झुम्साभन्दा परबाट खानेपानी ल्याउने भन्दै काम सुरु गरिएको नेपाल खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदिपकुमार श्रेष्ठले जानकारी दिए ।
