अर्जुन चौपारी गाउँपालिकका तत्कालीन प्रमुख अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पुस १६, २०८१

कान्तिपुर संवाददाता

Corruption case against 12 people including Aryal, the then head of Arjun Chowpari village council

काठमाडौँ — सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाका तत्कालीन पालिका अध्यक्ष दीर्घनारायण अर्याल तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय पुरण गुरुङ र कमलप्रसाद गौतमसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष अर्यालसहितका प्रतिवादीलाई छुट्टाछुट्टै बिगो कायम गरी कैद र जरिवानाको मागदाबीसहित मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

भ्रष्टाचार मुद्दा लागेका अर्याल २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट पालिका प्रमुखमा विजयी भएका थिए । अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार पालिकाका तत्कालीन प्रमुख अर्याल र सवइन्जिनियर सुदीप आचार्यविरुद्ध समान ३५ लाख ३९ हजार ३ सय ३१ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना तथा बिगो रकम असुलको मागदाबी गरेर मुद्दा दायर गरिएको हो । 

त्यस्तै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुरुङ र तत्कालीन सवइन्जिनियर सूर्यप्रसाद पौडेलविरुद्ध २७ लाख ५ हजार ११ रुपैयाँ बिगो मागदाबी गरेर मुद्दा दायर गरिएको छ । निर्माणका क्रममा अनियमितता गर्ने सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले र कोषाध्यक्ष हिमकुमारी केसीविरुद्ध पनि एकमुष्ट २७ लाख ५ हजार ११ रुपैयाँ बिगो माग गरिएको छ । 

निर्माण अवधिका क्रममा काम गरेका अर्का प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम र तत्कालीन सवइन्जिनियर सुदीप आचार्यविरुद्ध ८ लाख ३४ हजार ३ सय २० रुपैयाँ तथा तल्लोबजार नाली तथा ढलान सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मंगलदेवी थापा मगर, सचिव विष्णुकुमारी विक र कोषाध्यक्ष एकनारायण देवकोटाविरुद्ध एकमुष्ट ८ लाख ३४ हजार ३ सय २० रुपैयाँ नै बिगो मागदाबी गरी मुद्दा दायर भएको हो । 

प्रतिवादी बनाइएका सबैविरुद्ध हिनामिना भएको रकम जफत, बिगोबमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ । गाउँपालिकाको वडा नम्बर १ का लागि २०७५/७६ र २०७६/७७ मा स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन काम गरेको आरोपमा अख्तियारले अनुसन्धान गर्दा मिलेमतोमा रकम हिनामिना गरी कमसल काम गरेको खुलेको थियो । 

भत्किएको सडक ढलान गर्न २७ लाख ५ हजार ११ रुपैयाँ र गाउँपालिकाबाट कार्यान्वयन भएको तल्लो बजार नाला तथा ढलान निर्माण योजनाका लागि २०७६/७७ मा ८ लाख ३४ हजार ३ सय २० रुपैयाँ बजेट विनियोजन भएको थियो । दुवै योजना उपभोक्ता समितिमार्फत गराइएकामा पालिका प्रमुख, इन्जिनियर र उपभोक्ता समितिका पदाधिकारीसहितको मिलेमतोमा गुणस्तरहीन काम गराएर अनियमितता गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully