काठमाडौँ — क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव एवं माओवादीका पूर्वउपाध्यक्ष मोहन वैद्य १५ दिनदेखि उपचाररत छन् । दम बढेपछि उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारार्थ भर्ना गरिएको हो ।
उनलाई दमसँगै निमोनिया देखिएपछि चार दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको नेता हरिभक्त कँडेलले जानकारी दिए । क्रान्तिकारी कम्युनिस्ट पार्टीले वैद्यको उपचारका लागि कँडेलको संयोजकत्वमा समिति नै गठन गरेको छ ।
‘महासचिव (वैद्य)को स्वास्थ्यमा सुधार भइरहेको छ । औषधिले काम गरेको डाक्टरको भनाइ छ,’ कँडेलले भने, ‘यसरी सुधार भयो भने चार–पाँच दिनपछि डिस्चार्ज गर्ने तयारी छ ।’ डा. निरज बमको टिमले वैद्यको उपचार गरिरहेको छ ।
हरेक वर्ष दम बल्झिएपछि उपचारका लागि विदेश जाने सुझावलाई वैद्यले अस्विकार गरेको कँडेलले बताए । ‘यहीँ राम्रा डाक्टर हुनुहुन्छ । विदेश किन जानुपर्यो भनेपछि हामीले यहीँ उपचार गरिरहेका छौं,’ उनले भने ।
डा.बमको टिमले राम्रो उपचार गरिरहेको कँडेलले जानकारी दिए । ‘डाक्टरहरूको टिमले महासचिवको उपचारमा मिहिनेत गर्नुभएको छ,’ उनले भने ।
वैद्यलाई भेट्न स्वास्थ्यमन्त्री प्रदीप पौडेल सोमबार शिक्षण अस्पताल पुगेका थिए । त्यसअघि आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पनि भेट गरेका थिए ।
कार्यवाहक महासचिवकाे जिम्मा गजुरेललाई
महासचिव मोहन वैद्य बिरामी भएपछि कार्यवाहक महासचिवको जिम्मेवारी वरिष्ठ नेता सीपी गजुरेललाई दिइएको छ । आईसीयूमा उपचारत वैद्यले कार्यवाहक महासचिव गजुरेललाई तोकेका हुन् ।
वैद्यसँग माओवादी छाडेका गजुरेल क्रान्तिकारी कम्युनिस्ट पार्टीका वरिष्ठ नेता हुन् । उनी माओवादीका पूर्वकेन्द्रीय सचिव समेत हुन् । ‘किरण (वैद्य)जी सञ्चो नहुँदासम्म मलाई कार्यवाहकको जिम्मेवारी दिइएको छ,’ गजुरेलले भने ।
