माओवादीले झन्डा गाडेको शेरा दरबारको १६४ रोपनी नेताका नाममा

हदबन्दीमाथिको जग्गा लुकाउन राजपरिवारका सदस्यहरूले खोलेको कम्पनीको स्वामित्व परिवर्तन हुँदै नाटकीय रूपमा विकेश श्रेष्ठको परिवारमा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल २०६५ सालमा प्रधानमन्त्री हुँदा विकेश स्वकीय सचिव थिए।

पुस १४, २०८१

गंगा बीसी

Maoists buried the flag in the name of 164 ropani leaders of Shera Darbar

काठमाडौँ — पृथ्वीनारायण शाहका पाला नुवाकोटको शेराबेंसीमा बनेको दरबारको १६४ रोपनी जग्गा व्यक्तिगत कम्पनीका नाममा दर्ता गरिएको भेटिएपछि कारबाहीका लागि सीआईबीले सरकार र अख्तियारलाई पत्राचार गरेको छ ।

हदबन्दीमाथिको जग्गा जोगाउन राजपरिवारका सदस्यहरूले खोलेको कम्पनीको स्वामित्व नाटकीय रूपमा विकेश श्रेष्ठको परिवारले लिएको छ । माओवादी नेता श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल २०६५ मा प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए ।

नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी ४ आना १ पैसामध्ये १६४ रोपनी १३ आना २ दाम जग्गा हिनामिना भएकाले सरकारका नाममा ल्याउन सीआईबीले सरकारलाई पत्राचार गरेको हो । त्यस्तै सार्वजनिक जग्गा गैरकानुनी रूपमा कम्पनीमा सार्ने समूहमाथि कारबाही गर्न अख्तियारलाई पनि पत्र लेखिएको छ । 

द्वन्द्वकालमा माओवादीले र पार्टी विभाजनपछि २०६९ मा वैद्य तथा त्यसपछि चन्द समूहले यो दरबारमा झन्डा गाडेर कब्जा गरेको दाबी गर्दै आएका थिए । २०७२ पछि उक्त जग्गा माओवादी नेता श्रेष्ठको स्वामित्वमा सारिएको हो ।

तत्कालीन अधिराजकुमार बसुन्धराकी श्रीमती हेलेन शाह र विजया राज्यलक्ष्मी शाहको अंशमा परेको शेरा दरबार र त्यसले चर्चेको जग्गा २०२१ मा हदबन्दी कानुन लागू भएपछि सरकारका नाममा सर्नुपर्ने थियो । तर, उक्त जग्गा व्यक्तिकै नाममा जोगाउन २०२७ मा गौरीशंकर फार्मिङ स्थापना गरी कम्पनीका नाममा राखिएको थियो ।

गौरीशंकर फार्मिङमा सञ्चालक र सेयरधनी हेलन र विजयालक्ष्मी शाह दुवै थिए । गौरीशंकर फार्मिङको नाम २०३६ मा अन्नपूर्ण फार्मिङमा परिवर्तन गरिएको थियो । 

फार्मिङको सेयर र जग्गा विभिन्न समयमा फरक–फरक व्यक्ति हुँदै २०७२ मा विकेश श्रेष्ठका नाममा आएको प्रहरीले अनुसन्धानमा भेटिएको छ । ‘हदबन्दीभन्दा बढी भएको त्यही जग्गा जफत गर्नका लागि सिफारिस गरिएको हो,’ सीआईबीका प्रमुख दीपक थापाले भने । २०७२ मा कम्पनीमा सेयरधनीका रूपमा प्रवेश गरेका विकेश श्रेष्ठले अहिले सम्पूर्ण कम्पनी नै आफू र छोराका नाममा बनाएका छन् । 

Maoists buried the flag in the name of 164 ropani leaders of Shera Darbar

हदबन्दीभन्दा बढीको जग्गा जुन प्रयोजनका लागि लिइएको हो, त्यसैमा उपयोग नभएको पाइए सरकारले आफूमातहत ल्याउने कानुनी प्रावधान रहेकाले सीआईबीले अनुसन्धान गरेको एआईजी थापा बताउँछन् ।

‘जग्गा फरक प्रयोजनमा रहेको पाइएपछि सरकारमातहत ल्याउन भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेका छौं,’ उनले भने, ‘यस जग्गाका सन्दर्भमा कम्पनी खोल्ने, अन्यत्र उपयोग गर्ने कार्यमा संलग्न रहेका सरकारी अधिकारीमाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत लेखिपठाएका छौं ।’ 

Maoists buried the flag in the name of 164 ropani leaders of Shera Darbar

यस विषयमा गत कात्तिक २६ मा सीआईबीले भूमिमन्त्री बलराम अधिकारीसँग छलफल गरेको थियो । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा भएको छलफलबाट ‘गौरीशंकर कृषि फार्मिङको स्वामित्वमा रहेको जमिन अन्नपूर्णमा ल्याउँदा आवश्यक कागजातको प्रकृति बुझ्ने, संयुक्त टोली बनाई स्थलगत भ्रमणमा गई उक्त जमिनमा उद्देश्यअनुरूप कृषि फर्म सञ्चालन भए/नभएको अनुगमन गर्ने’ निर्णय भएको थियो । 

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–३ का विकेश श्रेष्ठ माओवादी अध्यक्ष दाहालको नातेदार रहेको भन्ने स्थानीयको दाबीलाई सीआईबीले प्रतिवेदनमा लेखेको छ । ‘गौरीशंकर फार्मिङका नाममा कि.नं. ८२, ८३, ८४, ८७, ८८, ८९, ९०, ९२, ९३, ९४, ९५, ९७, ९८ समेत गरी १३ कित्ताको १६४ रोपनी १३ आना २ पैसा १ दाम जग्गा एकमुष्ट रहेको’ सीआईबीले जनाएको छ । 

विकेश श्रेष्ठले आफू माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पूर्वस्वकीय सचिव भएका कारण जग्गा विवाद निकालिएको प्रतिक्रिया दिएका छन् । अन्नपूर्ण फार्मिङ कम्पनी आफूसहितको समूहले कानुनबमोजिम नै किनेको उनको दाबी छ ।

Maoists buried the flag in the name of 164 ropani leaders of Shera Darbar

‘हामीले नरेन्द्रलाल प्रधानका नाममा रहेको कम्पनी नियमानुसार किनेका हौं,’ उनले भने, ‘म अध्यक्ष प्रचण्डको पूर्वस्वकीय सचिव भएको हुनाले उहाँलाई पनि जोड्न खोजेको बुझेको छु ।’ प्रधानले त्यो कम्पनी २०५२ मा हेलेन शाहबाट किनेको दस्ताबेजमा देखिएको श्रेष्ठको भनाइ छ । ‘बैंकबाट करिब ११ करोड ऋण लिएर फार्मिङ गरिरहेका छौं,’ उनले भने, ‘फार्मिङको आम्दानीबाट बैंकको ब्याज तिर्दै आएका छौं ।’ 

प्रधानमन्त्री कार्यालयको सक्रियतामा राजनीतिक पूर्वाग्रह झल्किने गरी माओवादीसँग जोडेर कम्पनीको जग्गासम्बन्धी विवाद निकालिएको श्रेष्ठको भनाइ छ । ‘हामीले कम्पनी रजिस्ट्रार, मालपोत लगायतका सम्बन्धित कार्यालयसँग बुझेर जग्गा किनेका थियौं,’ उनले भने, ‘जग्गाको विवाद निकाल्न थालेपछि हामी चिन्तित छौं । तर हामीले कानुनअनुसार जग्गा किनेको दस्ताबेजले बोल्छ ।’ 

Maoists buried the flag in the name of 164 ropani leaders of Shera Darbar

२०६८ सम्म केन्द्रीय सदस्य रहेका श्रेष्ठ अहिले पार्टीमा सक्रिय नरहेको माओवादीले जनाएको छ । ‘नेतृत्वलाई जोडेर लेखिएको प्रचारको सम्पूर्ण रूपले खण्डन गर्छौं । शेरा दरबारसम्बन्धी विषय छानबिन गरी संलग्न जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं,’ माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले भने, ‘यो प्रकरणमा जसको नाम उल्लेख भएको छ, उहाँ लामो समयदेखि हाम्रो पार्टीको कुनै पनि भूमिकामा नरहेको स्पष्ट गर्न चाहन्छौं ।’ 

कसरी आयो श्रेष्ठका नाममा कम्पनी ?

अन्नपूर्ण फार्मिङमा विजयालक्ष्मी शाहका नाममा रहेको सेयर २०५२ सालमा जयन्ती शाहका नाममा हस्तान्तरण भएको थियो । त्यही वर्ष हेलेन र जयन्तीका नाममा रहेको सम्पूर्ण सेयर नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी प्रधान, सोहिनी श्रेष्ठका नाममा हस्तान्तरण भएको पाइएको सीआईबीको प्रतिवेदनमा उल्लेख छ ।

अन्नपूर्ण फार्मिङले कम्पनी रजिस्ट्रारको कार्यालयलाई लेखेको पत्रमा संलग्न सेयर बिक्री लिखतलगायतका कागजातमा हेलेन र जयन्ती शाहले सेयर बिक्री गर्दा जग्गाबारे उल्लेख गरेको देखिँदैन । २०६६ माघ ७ मा भएको सेयर बिक्री राजीनामा लिखतमा भने नयाँ सेयरधनीमा ध्रॅवलाल श्रेष्ठ र रजनी श्रेष्ठको प्रवेश भएको देखिएको छ । यसरी ६ जना सेयरधनी कायम भएको एक महिनापछि भुवनलाल राजभण्डारी थपिएका थिए । त्यतिबेला पनि जग्गाका विषयमा केही नखुलाएको सीआईबीको प्रतिवेदनमा उल्लेख छ । 

Maoists buried the flag in the name of 164 ropani leaders of Shera Darbar

अन्नपूर्ण फार्मिङको २०७२ चैत ५ मा भएको साधारणसभाको निर्णय र सेयर खरिदबिक्री लिखतबाट नयाँ सेयरधनीका रूपमा विकेश श्रेष्ठसँगै अजयकुमार सूर्यवंशी, ध्रॅवलाल श्रेष्ठ गरी ३ जना मात्रै सेयरधनी कायम भएको देखिएको छ ।

त्यतिबेला ‘कम्पनीको निर्णयमा जग्गाको विवरण नखुलाइएको तर सेयर खरिदबिक्री लिखतमा जग्गाको मूल्यांकनसमेत जोडेर प्रतिसेयर १ लाख १८ हजार ७ सय ३३ रुपैयाँ ५१ पैसा कायम गरी एकमुष्ट सेयरको मूल्य खुलाइएको’ सीआईबीले प्रतिवेदनमा उल्लेख गरेको छ । त्यसपछि २०७२ चैत २५ को निर्णयबाट सुमन पारिक नयाँ सेयरधनी थपिएका थिए । कम्पनी रजिस्ट्रार कार्यालयको सेयर दर्ता किताबअनुसार त्यतिबेला अन्नपूर्ण फार्मिङको सेयरको जम्मा मूल्य ११ करोड १७ लाख ९१ हजार रहेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ ।

‘२०८० मंसिर १० सम्म उल्लिखित सेयरधनीमध्ये विकेश श्रेष्ठ र अजयकुमार सूर्यवंशी यथावत् रही विकेश श्रेष्ठका छोरा मनोवल श्रेष्ठ, ध्रॅवलाल श्रेष्ठको सेयर कित्ता संख्या ४५ हजार, मूल्य ४५ लाख रुपैयाँ र सुमन पारिकको कित्ता संख्या ४५ हजार, मूल्य ४५ लाख रुपैयाँ गरी सेयर कित्ता संख्या ९० हजार र मूल्य ९० लाख रुपैयाँ नयाँ सेयरधनी कायम रहेको’ प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार गत कात्तिकसम्म आइपुग्दा उक्त कम्पनीको सञ्चालकमा विकेश श्रेष्ठ र मनोवल श्रेष्ठ बाबुछोरा मात्रै छन् ।

गंगा

Link copied successfully