काठमाडौँ — श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीले नेपाल-श्रीलंका प्रत्यक्ष हवाई उडानको पहलकदमी लिने बताएका छन् । संसदीय सुनुवाइ समितिमा नाम अनुमोदन भई राजदूतका रूपमा कार्य गर्ने अवसर मिलेमा नेपाल-श्रीलंका प्रत्यक्ष हवाई उडानको पहल गर्ने नेपालीको भनाइ थियो ।
संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा आफ्ना अवधारणा र कार्ययोजना राख्दै प्रस्तावित राजदूत नेपालीले श्रीलंकामा रहेका बौद्ध धार्मावलम्बीहरू एकपटक गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउन चाहने भएकाले त्यसका लागि प्रत्यक्ष हवाई उडानको आवश्यकता रहेको बताए ।
'नेपाल र श्रीलंकाबीच हवाई सेवा बिस्तार र सुधार (गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नयाँ उडानका लागि पहल) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई निरन्तरता' का लागि पहल गर्ने नेपालीले बताए ।
नेपालीले द्वीपक्षीय शैक्षिक, अनुसन्धानमूलक तथा नीतिगत सहकार्य गर्नुपर्ने पनि आफ्नो कार्ययोजनामा उल्लेख गरेका छन् । नेपाल र श्रीलंकाका विश्वविद्यालयबीच सहकार्य तथा साझेदारी गरेर अनुसन्धान र थिंक ट्यांकका रूपमा काम गर्नुपर्ने उनको भनाइ छ ।
नेपाल र श्रीलंकाको सम्बन्धमा 'सफ्ट पावर'को प्रयोग पनि गर्नुपर्ने नेपालीको भनाइ छ । उनले सगरमाथा र गौतम बुद्धको जन्मस्थललगायतका सफ्ट पावरको प्रयोग गर्नुपर्ने बताए । पर्यटन प्रबर्धनका लागि पनि नेपालले काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।
