काठमाडौँ — ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले त्यहाँका यातायात, सञ्चार तथा सूचना प्रविधिमन्त्री सय्यद बिन हमूद बिन सय्यद अल मवालीसँग भेटवार्ता गरेका छन् । राजदूत अर्यालले शनिबार मन्त्री मावालीलाई भेटेका हुन् ।
भेटका अवसरमा नेपाल-ओमानबीच सीधा हवाई उडान, सूचना-प्रविधिको क्षेत्रमा सहकार्य लगायत अन्य द्विपक्षीय हितका समष्टिगत विषयहरुमा छलफल भएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।
ओमानमा हवाई यात्रा लगायत अन्य यातायात व्यवस्थापन यही मन्त्रालयको कार्यक्षेत्र रहेको हुँदा नेपालमा सीधा हवाई उडान गर्न अनुरोध गरिएको राजदूत अर्यालले बताएका छन् ।
उक्त बैठकमा मन्त्रालयका उच्च पदाधिकारी तथा राजदूतावासका द्वितीय सचिव विशेषकुमार साहसमेत उपस्थित थिए ।
