लिपुलेकबारे चीन-भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डतामा अतिक्रमण : महासचिव चन्द

पुस १३, २०८१

कान्तिपुर संवाददाता

Sino-Indian agreement on Lipulekh encroaches on the universal integrity of Nepal: General Secretary Chand

काठमाडौँ — नेपालको लिपुलेक भञ्ज्याङ भएर भारत र चीनबीच तीर्थयात्री र व्यापारिक नाका पुनः सञ्चालन गर्ने सहमतिबारे नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आपत्ति जनाएका छन् ।  

शनिबार विज्ञप्ति जारी गरेर चन्दले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले गत साता चीनको भ्रमणका क्रममा बेइजिङमा भएको सहमतिलाई लिएर आपत्ति जनाएका हुन् । '

चीन र भारतका अधिकारीहरूबीच पुस ३ (डिसेम्बर १८) बेइजिङमा सन् २०१५ मा सहमति भएर कोभिड- १९ को कारण बन्द भएको लिपुलेक भञ्ज्याङ भएर तिर्थयात्री र व्यापारीक मार्ग पुनः सञ्चालन गर्ने भनी भएको सहमतिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,' चन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सन् २०१५ मा सो सहमति हुँदा नै हाम्रो पार्टीसहित देशभक्त नेपाली जनता सो सहमति खारेजीको मागसहित संघर्षमा उत्रिएको थियो ।'

त्यतिबेला चीन सरकारले नेपालको दाबीअनुसार प्रमाणिक कागजात भए भारतसँ गरिएको सहमति पुनर्मूल्यांकन गर्न सकिने बताएको पनि चन्दले स्मरण गराएका छन् । '२०७७ जेठमा नेपालको प्रतिनिधि सभा (संसद्) ले कालापानी, लिम्पियाधुरा र लिपुलेक भन्ज्याङसहित भूभाग समेटेर नक्सा सार्वजनिक गरिसकेको छ,' चन्दले भनेका छन्, 'नेपालको भूभाग प्रयोग गर्ने सहमतिमा नेपालसँग सहकार्य नगरी भएको चीन-भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण गरेको छ ।'

चन्दले नेपालको स्वतन्त्रता र अखण्डताप्रति गम्भीर हुन आवश्यक रहेको बताएका छन् । चन्दले सरकारसँग माग गरेका छन्, 'हाम्रो पार्टी लिपुलेक भञ्ज्याङको सन्दर्भमा डिसेम्बर १८ (पुस ३) मा भएको भारत-चीन सहमति खारेज गराउन र राष्ट्रिय अखण्डताको रक्षार्थ आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग गर्दछ ।'

कान्तिपुर

Link copied successfully