छोरा अमेरिकामा भएका कारण उनी आएपछि आइतबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने
काठमाडौँ — सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको हृदयघातका कारण गएराति निधन भएको छ ।
हृदयघात भएपछि ७१ वर्षीय वस्तीलाई उपचारका लागि शुक्रबार राति थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो। तर उनको राति नै निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुँइकेलले जानकारी दिए ।
लामो समय सरकारी वकिल भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेका वस्ती २०६५ भदौ २२ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । पछि पदावधि नथपिएपछि उनी २०७० चैत्र २९ गते अस्थायी न्यायाधीशकारुपमै सर्वोच्च अदालतबाट अवकाश भएका थिए ।
अख्तियारमा हुँदा थुप्रै भ्रष्टाचार मुद्दाहरूमा अभियोजन गरेर चर्चा कमाएका उनले २०६४ सालमा विकृतिविहीन न्यायपालिका स्थापना गर्ने भन्दै गठित समितिमा सक्रिय भूमिका खेलेका थिए । उनकै जोडबलमा उक्त समितिले अदालतभित्र र बाहिर विचौलियाहरू हाबी रहेको प्रतिवेदन दिएको थियो ।
सर्वोच्च अदालतबाट अवकाश भएपछि उनी ६ वर्ष राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएर काम गरे । पछिल्लो समय पनि उनी न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा सक्रिय थिए ।
सर्वोच्चका प्रवक्ता कुइकेलका अनुसार वस्तीका छोरा अमेरिकामा भएका कारण उनी आएपछि आइतबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम तय भएको छ ।
