एक सातादेखि विद्यालयमा हाजिर छैनन् अञ्जला

पुस १३, २०८१

पर्वत पोर्तेल

Anjala has not attended school for a week

विराटनगर — मोरङ धनपालथान–३ को उमा–गौरी कृषि सहकारी ठगी प्रकरणकी अभियुक्त अञ्जला कोइराला दुई सातायता फरार छिन् । संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नीसमेत रहेकी कोइराला आफूले पढाउँदै आएको विद्यालयमा पनि हाजिर भएकी छैनन् । 

कोइरालाले विराटनगरस्थित महेन्द्र रात्रि माविमा पढाउँदै आएकी थिइन् । सहकारी ठगी प्रकरणमा उनीलगायतविरुद्ध गत मंसिर २७ मा मुद्दा दायर भएको थियो । त्यसको भोलिपल्ट २८ गते विद्यालयमा आयोजित राष्ट्रपति रनिङ सिल्ड कार्यक्रममा उनी सहभागी थिइन् ।

पुस १ मा उनले ५ दिनको बिदा स्वीकृत गराएको विद्यालय प्रशासनले जनाएको छ । त्यसयता उनी फरार छिन् । बिदा सकिए पनि पुस ६ यता विद्यालयमा हाजिर भएकी छैनन् । उनी विद्यालयमा उपस्थित नभएको एक साता पुगिसकेको छ ।

अञ्जलाका श्रीमान् पोखरेलले गत मंगलबार इमेलबाट पत्र पठाएर विद्यालयमा अनिश्चितकालीन बिरामी बिदा मागेका थिए । उनले फोन गरेर पत्र पाए नपाएको बारे आफूसँग जानकारी लिएको प्रधानाध्यापक झङ्कप्रसाद पराजुलीले बताएका थिए । तर विद्यालयले बिदा स्वीकृत नगरिसकेको उनले जानकारी दिएका थिए । कोइराला उमा–गौरी कृषि सहकारीकी पूर्व सञ्चालकसमेत हुन् ।

प्रहरी अनुसन्धानअनुसार उमा–गौरी कृषि सहकारीको ठगी प्रकरणमा २२ करोड रुपैयाँभन्दा बढी अनियमितता भएको छ । सहकारीका ८ हजार ८ सय ४२ जना सेयर सदस्यहरूको ३ करोड ८ लाख रुपैयाँ र ७ सय ७ ऋणीहरूको २४ करोड ३० लाख रुपैयाँ ठगी गरिएको आरोप छ । 

सरकारी वकिलको कार्यालयले सहकारीका वर्तमान तथा पूर्वसञ्चालक रहेका कोइरालासहित २६ जना आरोपितविरुद्ध साढे २२ करोड रुपैयाँ बिगो र ६ देखि ८ वर्षसम्म कैद सजायको माग गर्दै मुद्दा दायर गरेको छ । सहकारीबाट ठगी गरिएका २४ करोड ३० लाखमध्ये ८ करोड मात्र असुल भएको छ । बाँकी १६ करोड असुली अझै बाँकी छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully