अधिकारीबीच हुने वार्तामा ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा लामा दोभासेको भूमिकामा
ताप्लेजुङ — चीन र भारतसँग सीमा जोडिएको ताप्लेजुङका सरकारी अधिकारी र जनप्रतिनिधिले छिमेकी देशसँग समन्वय गरिरहनुपर्छ । सिमानामा आउने समस्या होस् या सीमावर्ती क्षेत्रका बासिन्दाका सरोकारका विषय । पछिल्ला ७ वर्षमा ताप्लेजुङका तीन प्रमुख जिल्ला अधिकारीले चीनको दिङ्जे काउन्टीमा गएर द्विदेशीय बैठक गरे ।
चीनसँग सिमाना जोडिएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष र ताप्लेजुङका दलका प्रतिनिधिले पनि चिनियाँ पक्षसँग छलफल गर्दै आएका छन् । सबै बैठकको समन्वय भने फक्ताङलुङ–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा लामाले गर्दै आएका छन् ।
उनकै समन्वयमा पछिल्लो पटक गत मंसिर २९ मा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा नेतृत्वको टोली सीमा बैठकमा सहभागी भएको थियो । बैठकका लागि दिङ्जे काउन्टीका परराष्ट्र मामिला मन्त्रालयले छेतेनमार्फत प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको थियो ।
पत्रको भाषा अंग्रेजीमा भए पनि यसको ‘लेटरहेड’ भने तिब्बती भाषामा थियो । ‘लेटरहेड’ मा के लेखिएको छ भन्ने बुझ्न पनि छेतेनलाई नै सम्पर्क गर्नुपर्छ । तिब्बती भाषा ओलाङचुङगोलाका बासिन्दा प्रायः ले बुझ्छन् ।
छेतेनका अनुसार दिङ्जेमा दुई वटा भाषा चल्छन् । काउन्टीको जनसरकार प्रमुखलगायतका सरकारी अधिकारी चिनियाँ भाषा मात्र प्रस्ट बुझ्छन् । तर, छेतेन स्वयं पनि चिनियाँ भाषा प्रस्ट बोल्न सक्दैनन् । नेपालका अधिकारीले भनेको विषय उनले तिब्बती भाषामा बताउँछन् ।
तिब्बती अधिकारीले चिनियाँ भाषामा उल्था गर्छन् र चीनका अधिकारीलाई बुझाउँछन् । ती अधिकारीले चिनियाँ भाषामा भनेको कुरा चिनियाँ दोभासेले तिब्बती भाषामा भन्छन् । छेतेनले त्यसलाई नेपालीमा उल्था गर्छन् ।
‘यस पटकको बैठकमा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शर्माले अंग्रेजीमा आफ्नो कुरा भन्नुभयो,’ छेतेनले भने, ‘मैले उनीहरू (चिनियाँ) लाई तिब्बती भाषामा उल्था गरें ।’ बैठक अंग्रेजी भाषामा गर्ने भनिए पनि स्पष्ट नहुने भएपछि आ–आफ्नो भाषामा उल्था गरेर प्रस्ट्याइएको उनले बताए । बोर्डिङ स्कुल पढेकाले आफूले अंग्रेजीमा पनि सामान्य कुरा गर्न सक्ने छेतेन बताउँछन् ।
सीमा बैठकका लागि यसअघि प्रमुख जिल्ला अधिकारीहरू अनुज भण्डारी (२०७५), डोरेन्द्र निरौला (२०७६) चीनको दिङ्जे गएका थिए । यसपालि शर्मासहित तीनै जना घुम्तीमा भन्ने स्थानमा सीमा बैठकमा सहभागी भएका हुन् । २०८० मा रवीन्द्र आचार्य र २०७९ मा गोमादेवी चेम्जोङ टिप्ताला भन्ज्याङसम्म गएका थिए । त्यहाँ दिङ्जे काउन्टीका अधिकारी पनि आएका थिए ।
सीमामै बसेर सीमा नाका खुलाउने, व्यापार आदानप्रदान गर्नेलगायतका विषयमा कुराकानी भएको थियो । आचार्यसँगको बैठकमा छेतेन थिए । चेम्जोङसँगको बैठकका लागि समन्वय गरे पनि आमा बिरामी भएर काठमाडौं जानुपरेकाले प्रत्यक्ष सहभागी हुन नसकेको उनले बताए । त्यति बेला वडा कार्यालयका कर्मचारी तेन्जिङ वालुङले समन्वय गरेका थिए ।
२०६७ मा सीमा बैठकका लागि गएका देवराज ढकालसँग दोभासे राखिएको थियो । ओलाङचुङगोलामा जन्मेर चीनमा बस्दै आएकी पेमा शेर्पाले त्यो काम गरेकी थिइन् । उक्त बैठकका लागि कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाले पहल गरेको थियो ।
त्यसपछिका बैठकमा चीनले नेपाली बोल्ने दोभासे प्रयोग नगरेको छेतेन बताउँछन् । ढकालभन्दा अघि ताप्लेजुङ र दिङ्जेका सरकारी अधिकारीबीच छलफल भएको पाइएको छैन । ‘म २०७४ को स्थानीय तह निर्वाचनपछि गाउँपालिकाको प्रवक्ता भएँ,’ छेतेनले भने, ‘सीमा नजिकैको बासिन्दा, जिम्मेवारीमा पनि भएपछि बैठकका लागि मैले नै धेरै पहल गर्दै आएको छु ।’
चीनले सीमा क्षेत्रमा सहयोग प्रदान गर्नुपरेमा या केही छलफल गर्नुपर्दा नेपालका सरकारी अधिकारी खोज्ने गरेको छ । त्यसका लागि आफूले समन्वय गरेको र दोभासे पनि आफैं भएको उनले बताए । ‘दोभासेको काम गर्दा कतिपय कुरा मैले सच्याएर भन्ने गरेको छु,’ छेतेनले थपे, ‘भूगोल, नामलगायतका विषयमा सीडीओ सावहरूले भनेका कतिपय कुरा तथ्यगत हुँदैनन्, त्यसलाई सच्याएर भन्ने गरेको छु ।’ एजेन्डालगायतका विषयमा भने तोडमोड नगरेको उनको दाबी छ ।
‘यहाँको बासिन्दा भएकाले त्यहाँ उठाउनुपर्ने विषय हामीलाई थाहा हुन्छ र हामीले उठाइदिनोस् भनेर सीडीओलाई अनुरोध गरेका हुन्छौं,’ छेतेनले भने, ‘त्यस्ता विषय उठाउँदा सीडीओले यस्तो भन्नुभएको हो भनेर प्रस्ट हुने गरी बुझाउँछौं ।’ यस पटकको बैठकमा सीमावर्ती नेपालीको मुख्य समस्या पशुचौपाया बिक्रीवितरण नभएकालाई अलि जोडदार ढंगले उठाएको उनले सुनाए ।
चीनले पत्र पठाउँदा पनि छेतेनमार्फत र प्रत्यक्ष पनि पठाउने गरेको प्रजिअ शर्माले बताए । ‘प्रत्यक्ष आए पनि दोभासेमार्फत समन्वय गर्नुपर्छ,’ शर्माले भने, ‘सदरमुकाम क्षेत्रमा तिब्बती भाषा लिपि बुझ्ने मान्छे पनि नपाइने रहेछ ।’ छेतेन स्वयं वडाध्यक्ष भएकाले आफूले पनि विश्वास गरेको उनले सुनाए ।
छेतेनसँगै चिनियाँ अधिकारीले वीच्याट र फोनमार्फत कुरा गर्छन् । कागजात पठाउँदा मेल र वीच्याटको प्रयोग गर्छन् । भाषा र लिपि दुवै जान्ने भएकाले वडाका कर्मचारी तेन्जिङले पनि समन्वय गरिदिने छेतेन बताउँछन् । नेपालको संघीय संरचनाअघि चीनले सीमावर्ती क्षेत्रका बासिन्दालाई खाद्यान्न सहयोग गर्दा तत्कालीन जिल्ला विकास समितिले दावा चुङ्दा शेर्पालाई दोभासेका रूपमा प्रयोग गरेको थियो ।
ओलाङचुङगोलामा जन्मेर देश–विदेशमा भएकाहरूले लगानी गरेर चीनको सीमा टिप्तालादेखि ओलाङचुङगोलाको बस्तीसम्म मोटर बाटो खने । पैसा संकलन गर्ने, चीनलाई एक्स्काभेटर मेसिनका लागि सरकारमार्फत अनुरोध गर्नेलगायतका काममा समन्वयको अगुवाइ पनि छेतेनले गरेका हुन् ।
स्थानीयको नेतृत्व गर्दै उनले जिल्लाका सांसदमार्फत मन्त्री, प्रधानमन्त्रीसम्मलाई ज्ञापन बुझाए । त्यसले उनलाई नेपाल र चीनको राजनीतिक संयन्त्र तथा प्रशासनसँग नजिक हुने बाटो खुलेको हो ।
डोरेन्द्र निरौलाको नेतृत्वमा भएको बैठकमा त दिङ्जे काउन्टी प्रमुख कुंगाले ‘छेतेन बोल्छ पनि, काम पनि गर्छ’ भनेर प्रशंसा गरेको तत्कालीन जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन बताउँछन् । उक्त बैठकमा जिसस प्रमुख मादेन, फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ, उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेलगायतको टोली गएको थियो ।
अनुज भण्डारी नेतृत्वको बैठकमा पनि गाउँपालिका, वाणिज्य संघका प्रमुख सहभागी थिए । कोरोनाका कारण बन्द भएको नाका खुलाउन अनुरोध गर्न फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू, माओवादीका जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री, कांग्रेस सभापति गजेन्द्रप्रसाद तुम्याहाङलगायतको टोली पनि सीमासम्म पुगेका थिए । त्यसबेला पनि आफूले चिनियाँ अधिकारीलाई सीमासम्म बोलाएर सहजीकरण गरेको छेतेन बताउँछन् ।
सीमा नजिकैको बस्तीबाट उनीहरूले ३५ किलोमिटर धाउनुपर्ने भएकाले पहिल्यै समय, मिति तय गरेर नेपाली प्रतिनिधि लैजाने र चिनियाँ अधिकारी बोलाउने गरेको छेतेन बताउँछन् । यसरी हुने बैठकमा खादा–माला लगाउने र परिचय गर्ने चलन छ । यसअघि ओलाङचुङगोलाबाट हिँडेर जानुपर्ने र दुई दिन लाग्ने भएकाले चिनियाँ अधिकारी सीमासम्म चिया–खाजा लिएर आउने गरेको उनले बताए ।
