हातगोडा घिसारेरै भए पनि उनी काम गर्छन्, बजारसम्म पुगेर किनमेल गर्छन् र घरमा अरूलाई सघाउँछन् ।
खत्याडी, डोटी — बोगटान फुडसिल गाउँपालिका–७ खत्याडीका नरबहादुर बोहरा अशक्त छन् । दुवै हातका औंला पन्जासहित बाउँडिएका छन् भने मसिना खुट्टा विपरीत दिशातर्फ मोडिएका छन् । घिस्रिएरै भए पनि उनी काम गर्छन्, बजारसम्म पुगेर किनमेल गर्छन् र घरमा अरूलाई सघाउँछन् ।
५२ वर्षीय नरबहादुरले १ वर्षको उमेरमै बुबा गुमाए, १७ वर्षको हुँदा आमा । चार दाजुभाइमध्ये उनी कान्छा हुन् । एक बहिनी छिन् । दुई दाजु बितिसके । अविवाहित नरबहादुर अहिले जेठी भाउजू र भतिजीसँगै बसेका छन् । नरबहादुरले सामाजिक सुरक्षा भत्ताको रकम घर चलाउन तथा भाउजू र भतिजीको आवश्यक पर्ने कुरामा खर्चने गरेको सुनाए ।
उनी परिवारमा परिआउँदा खाना पकाउन पनि सहयोग गर्छन् । घस्रँदै नजिकैको खत्याडी बजारसम्म पुगेर किनमेल गर्छन् । ‘मन त कहाँ–कहाँ उड्छ, अरू मानिसजस्तै हिँड्न सके हुन्थ्यो भन्ने लाग्छ,’ नरबहादुरले भने, ‘त्यो असम्भव छ भन्ने बुझ्छु तर पनि मनले मान्दैन । पीडा मनभित्र छन्, मनभित्रै रहने भए । धेरै नकोट्याउनूस् ।’
सानो छँदा आफूमा पढ्ने हुटहुटी धेरै नै रहेको उनले सुनाए । उनी घिस्रिएरै विद्यालयसम्म पुग्थे । बर्खाको पानीले बनाएका खोल्साखोल्सीका अप्ठ्यारो र उकालो–ओरालो छिचोलेर उनी नियमित विद्यालय जान्थे । घरबाट करिब एक किलोमिटर टाढा रहेको विद्यालय धाएर उनले कक्षा ५ सम्म पढे । ‘सक्दैनस्, बिचरा छस् भनेर परिवारले विद्यालय पठाउनै चाहँदैनथे,’ उनले भने, ‘परिवारसँग विद्रोह गरेर पढ्न जाने गरेको थिएँ तर शिक्षककै कारण पढाइ रोकियो ।’
कक्षा ५ को अन्तिम परीक्षा दिने बेला उनले शिक्षकलाई बाध्यता सुनाए । आफ्ना हातखुट्टा अशक्त भएकाले निर्धारित समयमै परीक्षा सक्नका लागि लेखिदिने सहयोगी साथी दिनुपर्ने प्रस्ताव राखे ।
‘मलाई अशक्त भएकामा बरु त्यति ग्लानि थिएन तर शिक्षकले तँ जस्तालाई केका लागि सहयोगी चाहियो भनेर जवाफ लगाए, मेरो त मुटु नै छेडिएजस्तो भयो,’ बोहराले भने, ‘त्यस दिनबाट जे–जति वेदना छन्, तिनलाई मनभित्रै राख्न थालें, कसैलाई सुनाएर हुनेवाला केही छैन भन्ने लाग्न थाल्यो ।’
‘शारीरिक अशक्त भएकाले विद्यालय गएर के गर्छौ भनी परिवार र समाजका व्यक्तिले रोक्न खोजे पनि आँट गरेर मिहिनेतका साथ पढिरहेको थिएँ,’ उनले सुनाए, ‘तर आफूले भगवान्सरह मानेको शिक्षकले नै कटु वचन लगाउँदा छातीमा खिल बनेर गड्यो, सहनै गाह्रो भयो, त्यस दिनबाट विद्यालयको आँगन नै टेकिनँ ।’
नरबहादुरका छिमेकी हुन् देवबहादुर बम । अशक्त भए पनि नरबहादुर पढाइमा जेहेनदार रहेको बम बताउँछन् । ‘४ कक्षामा पढ्दापढ्दै कक्षा ३ सम्मकालाई ट्युसन पढाउने मान्छे हुन् उनी,’ बमले भने, ‘अक्षर पनि निकै राम्रा थिए तर दुर्भाग्य ५ कक्षाभन्दा माथि पढ्न पाएनन् ।’
गाउँमा पढेलेखेका व्यक्ति नभएका बेला नरबहादुरले विभिन्न विद्यालयका विद्यार्थीलाई पढाए । गुरुदेव प्रावि दमौलीमा ४ वर्ष, सुनपाली प्रावि बडीकेदारमा डेढ वर्ष, खत्याडी माविमा केही वर्ष पढाए । विद्यालयका पाठ्यक्रम परिवर्तन र विभिन्न नीतिनियम बन्दै गएपछि भने उनले शिक्षण पेसा छोड्नुपर्यो ।
उनी ठान्छन्– जुन दिन घिस्रिन सकिन्न, दिनचर्या त्यसै दिनदेखि कहालीलाग्दो हुनेछ । ‘छरछिमेकी, नेता, जनप्रतिनिधिदेखि पत्रकारसम्म आएर पीडा र व्यथा सोध्छन्,’ उनी भावुक बने, ‘गुम्सिएका व्यथा सुनाएर के गरौं, जे छ मनमै छ, गुम्स्याएर राख्नुमै चित्त बुझाउँछु ।’
