काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले सिंहलाई एक दूरदर्शी नेताका रूपमा सम्झिँदै उनको निधन दक्षिण एसियालाई नै क्षति पुगेको बताएका छन् ।
राष्ट्रपति पौडेलले शोक सन्देशमा भनेका छन्, 'डा. सिंह भारतका दूरदर्शी नेता हुनुहुन्थ्यो । उहाँको निधनले भारत र दक्षिण एशियामा अपूरणीय क्षति पुगेको छ । म भारत सरकार र जनताका साथै शोक सन्तप्त परिवारका सदस्यहरूप्रति हार्दिक समवेदना र समवेदना व्यक्त गर्दछु ।'
सिंहको भारतीय समयअनुसार बिहीबार राति ९.५१ बजे उपचारका क्रममा नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा निधन भएको हो ।
सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री र त्यसअघि अर्थमन्त्री रहेका सिंह भारतमा उदारीकरण र आर्थिक सुधारहरूका योजनाकार मानिन्छन् ।
