काठमाडौँ — पार्टी मुख्यालय विवादास्पद व्यवसायीको दानमा निर्माण गर्ने निर्णयमा फरक मत राखेका तीन नेतालाई एमालेले बुधबार कारबाही गरेको छ । एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।
स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई भने जिम्मेवारीबाट ६ महिनाका लागि निलम्बन गरिएको छ ।
पार्टीले नेताहरूलाई कारबाही गरेपछि विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेका छन् । एमालेकै कतिपय नेताहरूले रावल, पाण्डे र तिम्सेनाले फरक मत राखेकै कारण कारबाही गरिएको बताएका छन् । यसैबीच महासचिव शंकर पोखरेलले भने घुमाउरो पारामा पार्टी अनुशासन नमानेकाले उनीहरूलाई कारबाही गरिएको बताएका छन् । पार्टी अनुशासनबारे 'एआई' को धारणा भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । कतिपयले यसैमा एआईलाई 'पार्टी तानाशाही शैलीमा चले के हुन्छ' भन्ने प्रश्न सोधेर पनि प्रतिक्रिया जनाएका छन् ।
एमालेबाटै परराष्ट्रमन्त्री बनेकी विमला राई पौड्यालले पाण्डे र तिम्सेनालाई कारबाही गरिनु गलत कदम भएको प्रतिक्रिया दिएकी छिन् । उनले एक्समा लेखेकी छिन्, 'दिस इज रङ, गलत भयो । नेकपा एमाले बनाउने इमानदार पिलरको नाम हो बिन्दा पाण्डे । बच्चैदेखि पार्टीको सिपाही उषाकिरण । मनका कुरा खुल्ला जनमानसमा राख्दा कारबाहीमा पर्नु हुँदैन ।'
