‘पहिला धेरै दिक्कत थियो । जग्गाधनीले थाहा पाए कुट्न आउँथ्यो । अहिले खेततिर हेर्न पनि मन लाग्दैन । सानले शौचालय जान्छु-आउँछु ।’
लहान, सिरहा — जन्मिँदै सरस्वती पासवानको दुवै खुट्टा थिएन । लहान–११ पररियाको सदाय (मुसहर) बस्तीमा हुर्केकी सरस्वतीलाई खुट्टा नहुँदा दिनचर्यामा सकस त छँदै थियो, दिसा–पिसाब गर्ने बेलामा उनलाई युद्ध गरेजस्तै लाग्थ्यो । घर–बस्तीमा शौचालय थिएन । शौच गर्न नजिकको खेत वा बाँसघारी पुग्नुपर्थ्यो । हातले घिस्रिँदै नजिकको खेत वा बाँसघारी पुग्नुपर्थ्यो ।
सरस्वती अहिले १३ वर्षकी भइन् । ह्वीलचेयरमा बसेर शौचालय पुग्छिन् । दिसा–पिसाबपछि धाराको टुटी खोलेर आफैं हात धुन्छिन् । लहानको सदाय बस्तीको सामुदायिक शौचालय अपाङ्तामैत्री पनि छ ।
विपन्न पासवान र मुसहर समुदायका ३० घरका २ सय ५० परिवारले प्रयोग गरिरहेको पररियाको सामुदायिक शौचालय पुग्ने सरस्वती एकमात्र अपाङ्गता भएकी प्रयोगकर्ता हुन् । नजिकको ज्ञानज्योति स्कुलमा कक्षा ४ मा पढिरहेकी सरस्वतीले भनिन्, ‘पहिला बहुत कष्ट हुन्थ्यो, अहिले धेरै सुविस्ता भएको छ । घरभन्दा पनि मलाई शौचालयको माया लाग्छ ।’
केही वर्ष पहिले खुल्ला दिसापिसाबमुक्त क्षेत्र घोषणा गरिँदा यहाँ पनि प्यान र सिट बाँडियो । भूमिहीन पासवान र मुसहर समुदायलाई एउटै कोठामा भान्सा र सुत्ने बाध्यता थियो, त्यसमाथि शौचालय थपिएपछि झन् आपत् पर्यो । भान्सा र शौचालय नछुट्टिने भयो । यसबाट खानेपानीको स्रोत प्रदूषित हुन पुग्यो । परिणामस्वरूप, छाला, झाडापखाला र पानीजन्य रोगका रोगी बढे ।
लहान–२२ जहदी बस्तीकी ५८ वर्षीया बरतनिया सदायले पनि शौचालयका लागि प्यान र सिट पाइन् । ऐलानी जग्गामा बनाइएको सानो झुप्रोमा उनको ८ जनाको परिवार मुस्किलले अटाउँथ्यो । झुप्रोको एउटा कुनामा भान्सा थियो । उनले भान्सानजिकै दाउरा राखेको ठाउामा शौचालय बनाइन । ‘शौचालय त बिरामी पार्यो,’ बरतनिया देवीले भनिन्,‘जेठो छोरालाई झाडापखाला चल्यो । मलाई दादले हैरान बनायो । स्वास्थ्य चौकीमा गएपछि पो थाहा पाइयो, दूषित पानीले रोगी बनाएको रहेछ ।’
सामाजिक परिचालिका एलिना इंग्माङका अनुसार खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने क्रममा विपन्न र गरिव बस्तीमा सिट–प्यान दिएर शौचालय बनाइए पनि समस्या टरेन । ‘ठाउँ अभावमा शौचालयमा भान्साको भाँडा, दाउरा राख्न थालियो,’ उनले भनिन, ‘खुल्ला दिसामुक्त क्षेत्र घोषणाका लागि धेरैको घरमा प्यान र सिट राखेको मात्र देखियो । प्रयोगमा थिएन । प्रयोगमा रहेका घरमा स्वास्थ्य समस्या देखियो ।’
लहान नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार पररियामा अघिल्लो वर्ष छालासम्बन्धी रोगका मात्रै करिब चार सयले उपचार गराए । लहान–११ मै अशुद्ध खानेपानीका कारण पाँच सय जनाभन्दा बढी बिरामी परे । लहान–२२ मा गत वर्षमात्रै छालासम्बन्धी रोगका चारसयभन्दा बढी बिरामी देखिए । यो वडामा दूषित खानेपानी प्रयोगका कारण झन्डै आठ सय जना बिरामी परे । ‘अधिकांश बिरामीमा टाइफाइड, आउँ, झाडापखाला र जुकाको समस्या देखिएको थियो,’ लहान नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामानन्द चौधरीले भने,‘छाला रोगमा इक्जिमा, दाद, घाउ, पिलो र लुतो देखियो ।’ चौधरीका अनुसार जनचेतनाको कमीले विपन्न र गरिब बस्तीमा सरसफाइ र पानीजन्य रोगका बिरामी बढेका हुन् ।
लहान नगरपालिकाको विपन्न र गरिब बस्तीमा खुल्ला शौच, दूषित खानेपानी र सरसफाइको अभावका कारण बिरामी पर्ने क्रम बढेपछि द विकन परियोजनाअन्तर्गत लहान नगरपालिका, नेपाल खानेपानी संस्थान, वाटर एड, एलियन वाटर र दलित जनकल्याण युवा क्लबको सहकार्यमा सामुदायिक शौचालय, दूषित खानेपानी र स्वच्छताका लागि काम थालेको छ । परियोजनाका साझेदार दलित जन कल्याण क्लब लहानका अध्यक्ष विनोदकुमार बिसुन्केले भने,‘खुल्ला दिसा–पिसाबमुक्त क्षेत्र घोषणा गरिए पनि विपन्न र भूमिहीन बस्तीमा समस्या रहिरह्यो । सामुदायिक शौचालय, दूषित खानेपानी र स्वच्छता अभियानले धेरै परिवर्तन ल्याएको छ ।’
लहान–२२ स्थित जहदी–सदाय टोलमा रहेको सामुदायिक शौचालय । तस्बिर : अजित तिवारी/कान्तिपुर
पहिलो चरणमा लहान नगरपालिकाको वडा नम्बर ११ को पररिया (सदाय बस्ती) र वडा नम्बर २२ को जहदीमा सामुदायिक शौचालयको निर्माण सकेर प्रयोगमा आइसकेको छ । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले मुसहर, पासवान र डोम बस्तीलाई लक्षित गरेर दुईवटा वडामा सामुदायिक शौचालय निर्माण गरिएको र दूषित खानेपानीका लागि ती बस्तीमा पाइपलाइन जडानको क्रममा रहेको बताए ।
वाटर एडका प्रोजेक्ट म्यानेजर राजेश लोहनीका अनुसार लहान नगरपालिकाको सबै २४ वटा वडामा सामुदायिक शौचालय बनाउने र शुद्ध खानेपानी पुर्याउने लक्ष्य छ । लोहनीले भने,‘सामुदायिक शौचालय र दूषित खानेपानीले रोगव्याधी नियन्त्रण भएको छ । पहिलाभन्दा सचेतना पनि बढेको छ ।’
४६ वर्षकी सोमनीदेवी पासवान लहान–११ को पररियामा निर्माण गरिएको सलेश–दिनाभद्री सामुदायिक शौचालय सञ्चालन तथा व्यवस्थापन समितिकी अध्यक्ष हुन् । उनको रेखदेखमा रहेको सामुदायिक शौचालयमा १० वटा सिट भएको शौचालय छ । एउटा भने अपाङ्गतामैत्री छ । ३० घरका २ सय ५० जनालाई तोकेरै शौचालय छुट्याइएको छ । हरेक घरबाट मासिक १ सय रुपैयाँ लिएर शौचालयको सरसफाइ र बिजुली बिल तिर्न खर्च गरिन्छ । अध्यक्ष पासवानले भनिन्,‘रोगको धेरै समस्या थियो पहिला । अहिले त धेरै नै सुधार भएको छ ।’
पररियाको सदाय बस्ती सकिनैलाग्दा दुईतिर दुईवटा पोखरी छ । पोखरीसँग टाँसिएका खेत छन् । अनि, बाँसघारी पनि । पोखरी डिलमा सुस्ताइरहेका राजकुमार सदा भेटिए । उनलाई आफ्नो उमेर थााह छैन । उनले सुनाए,‘ऊ त्यही परको खेत र बाँसघारी हाम्रो पहिलाको शौचालय हो । र, यो पोखरी हात धुने ठाउँ । खेतमा शौच गर्दा धेरैपटक म लखेटिएको छु । समातिँदा त कुटाइ पनि खाको छु ।’ सदालाई अब त्यो दुःखको दिन गएजस्तो लाग्छ । ‘पहिला धेरै दिक्कत थियो । जग्गाधनीले थाहा पाए कुट्न आउँथ्यो । अहिले खेततिर हेर्न पनि मन लाग्दैन । सानले शौचालय जान्छु–आउँछु ।’
लहान नगरपालिका–२२ को जहदी–सदाय टोलमा पनि सामुदायिक शौचालय छ । गत चैत १७ गतेदेखि प्रयोगमा ल्याइएको उक्त शौचालयको रेखदेख लुटनीदेवी सदायले गर्छिन् । जहदी बस्तीका २२ घरका करिब २ सय जनाले सामुदायिक शौचालय प्रयोग गर्छन् । लुटनीदेवीले भनिन्,‘यो शौचालय मात्र होइन, हाम्रा लागि रोगव्याधीबाट छुटकारा दिलाउने घर पनि बनेको छ ।’
के हो सामुदायिक शौचालय ?
सामुदायिक शौचालय नेपालमा नौलो हो । घरमा शौचालय बनाउने स्थिति नभएपछि बस्तीका लागि सरकारी जग्गामा सामुदायिक शौचालय बनाइन्छ । यही क्रममा विकन परियोजनाअन्तर्गत लहान नगरपालिकामा सामुदायिक शौचालय निर्माण थालिएको छ । विपन्न बस्तीमा दिसा–पिसाब र दूषित खानेपानीका कारण फैलिने रोगलाई नियन्त्रण गर्न सामुदायिक शौचालयसँगै शुद्ध खानेपानी र सरसफाइमा लहान नगरपालिकाले काम गरिरहेको छ ।
सामुदायिक शौचालयको रेखदेख समुदायले नै गर्छ । समुदायले बनाएको व्यवस्थापन समितिले शौचालयको रेखदेख, सरसफाइ र बिजुली–बत्तीको प्रबन्ध मिलाएको छ । सामुदायिक शौचालय प्रयोग गर्ने हरेक घरबाट मासिक १ सय रुपैयाँ संकलन गरिन्छ । त्यो पैसा सामुदायिक शौचालयको सरसफाइ, सेफ्टी टंयाकी सफाइ र बिजुली बिलमा खर्च गरिन्छ ।
