पार्टीभित्रका बहसलाई नकारात्मक रुपमा लिने प्रवृत्ति हाबी भयो : शर्मा

पुस ११, २०८१

कान्तिपुर संवाददाता

The tendency to take the debates within the party in a negative way has prevailed: Sharma

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालमा कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक रहेको बताएका छन् । कम्युनिस्ट पार्टीभित्र हुने बहसलाई नकारात्मक चिन्तनका रूपमा लिने प्रवृत्ति हाबी भएको पनि शर्माको भनाइ थियो ।

बिहीबार माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उपमहासचिव शर्माले कम्युनिस्ट पार्टीमा नेतृत्वको समस्या, कमजोरी र नेतृत्वमा सत्ता स्वार्थ तथा खिचातानीको कारणले एकता कायम रहन नसकेको बताए । 

नेपालमा अहिले पनि कम्युनिस्ट पार्टीमा गुट र फुटका कारण चिराचिरा भएको भन्दै अब कम्युनिस्ट आन्दोलनलाई पुनर्गठनमार्फत समाजवादी कार्यदिशामा अगाडि बढाउनुपर्ने बताए । उनले पुनर्गठन गरी दलाल पुँजीपति वर्गले वर्चश्व कायम गरेको समाज, अर्थ व्यवस्था र राजनीतिका विरुद्ध समाजवादी क्रान्तिको कार्यदिशा तय गर्नुपर्ने बताए । 

‘नेपालमा कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक छ । जुन पुनर्गठन २०६४ मा गर्न खोजिएको थियो तर २०६४ मा सिंगो वाम शक्तिलाई एकताबद्ध गर्ने उद्देले चुनावी तालमेल र २०६५ मा एकता गरेर जाने प्रक्रिया सुरु भएको हो । त्यो बेलाको कम्युनिस्ट एकता नीतिगत रुपमा नराम्रो थिएन । कम्युनिस्ट पार्टी एकता गर्ने नेतृत्वको समस्या, कमजोरी, गलत नेतृत्व र नेतृत्वमा सत्ता स्वार्थ खिचातानीको कारणले त्यो सफल हुन सकेन,' शर्माले भने, 'आजका दिनमा कम्युनिस्ट आन्दोलनलाई तेस्रो पुनर्गठनमार्फत समाजवादी कार्यदिशाका आधारमा दलाल पुँजीपति वर्गले बर्चश्व कायम गरेको समाज, अर्थ व्यवस्था र राजनीतिका विरुद्ध समाजवादी क्रान्तिको कार्यदिशा तय गर्दै पुनर्गठनसहित अगाडि बढ्नुपर्ने आवश्यकता छ ।'

शर्माले विभिन्न खेमामा रहेर बसेका कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने बेला आएको बताए । वर्तमान सत्ता स्वार्थमा लागि रहने कि जनजीविकाका यावत समस्या समाधान गर्दै अघि बढ्ने भन्ने प्रश्न कम्युनिस्ट पार्टीहरूका अगाडि रहेको उनको भनाइ थियो ।

'कम्युनिष्टहरूले उत्पादन र आत्मनिर्भर अर्थतन्त्र बनाउने नेतृत्व गर्नुपर्छ । पार्टीभित्रका बहसलाई नकारात्मक चिन्तनको रुपमा लिने प्रवृत्ति हाबी हुँदै गएको छ । कम्युनिष्ट नेताहरूमा जनताका दुःख बुझ्न जाने भन्दा पनि सम्पत्ति आर्जन र सुख सुविधामा तल्लिन हुँदा कम्युनिस्ट विचलनका आयाम देखिएका छन्,’ उनले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully