'मुलुकमा सुशासन कायम गर्न र जनताका समृद्धिका आकांक्षा पूरा गर्नका लागि संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिलेर वर्तमान सरकार गठन भएको हो, यही भावनाअनुसार कर्मचारीतन्त्रले पनि काम गर्नुपर्छ'
काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले मन्त्री निकट भविष्यमै सरकारले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागितासहित सगरमाथा संवादको आयोजना गर्न लागेको जानकारी गराएकी छन् ।
वन तथा वातावरण मन्त्रालयद्वारा बिहीबार आयोजित २९ औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रममा राणाले सगरमाथा संवादका लागि आवश्यक तयारी भइरहेको बताइन् । सो अवसरमा उनले जलवायु क्षेत्रमा नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धता पूरा गरेको उल्लेख गरे ।
'पछिल्लो अध्ययनले यस शताब्दीको अन्त्यसम्म हिमालको ८० प्रतिशत हिउँ पग्लिने देखाएको छ, यही सोचेर जलवायु संकट समाधानमा लाग्नुपर्छ, जलवायु न्यायको लक्ष्यसँगै पुग्ने बाटो पनि राम्रो हुनुपर्छ,' उनले भनिन् ।
कोप–२९ सम्मेलनमा विकसित मुलुकहरूले अति कम विकसित मुलुकलाई कार्बन उत्सर्जन गरेवापत वार्षिक तीन सय बिलियन अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता गरेको उल्लेख गर्दै उनले त्यसको थारै हिस्सा मात्र नेपालमा ल्याउन सके जलवायु परिवर्तनका असरबाट प्रभावितलाई न्याय प्रदान गर्न सकिने धारणा व्यक्त गरेकी थिइन् ।
फरक प्रसंगमा मन्त्री देउवाले भनिन्, 'मुलुकमा सुशासन कायम गर्न र जनताका समृद्धिका आकांक्षा पूरा गर्नका लागि संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिलेर वर्तमान सरकार गठन भएको हो, यही भावनाअनुसार कर्मचारीतन्त्रले पनि काम गर्नुपर्छ ।'
नेदरल्याण्डको हेगमा सम्पन्न अन्तर्राष्ट्रिय अदालतमा भएको जलवायु परिवर्तनमा राष्ट्रहरूको दायित्वसम्बन्धी सुनुवाइमा नेपालको महत्वपूर्ण सहभागिता र सम्बोधनका बारेमा जानकारी पनि मन्त्री राणाले जानकारी गराइन् ।
