हामी पार्टी काममै थियौँ, नेताले ६ महिना छुट्टी दिए : पाण्डे

पुस १०, २०८१

कान्तिपुर संवाददाता

We were in party work, leader gave 6 months leave: Pandey

काठमाडौँ — एमालेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको छ । मीनबहादुर गुरुङले पार्टी केन्द्रीय कार्यालयका लागि जग्गा र भवन दान दिने र एमालेले लिने निर्णयको आलोचना गरेकामा पाण्डे  र तिम्सिना निलम्बनमा परेका हुन् । 

एमालेको बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य पाण्डेसँगै केन्द्रीय सदस्य तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो । 

उक्त निर्णय पार्टी काममै रहेका बेला थाहा पाएको निलम्बित स्थायी कमिटी सदस्य पाण्डेको प्रतिक्रिया छ । उनले निलम्बनको अवधिलाई कसरी प्रयोग गर्ने भनी सामाजिक संजालबाट सुझाव पनि मागेकी छन् । 'हामी त पार्टी काममै थियौं, नेताले ६ महिना छुट्टी दिएको खबर सुनियो । यो अवधिलाई रचनात्मक र सिर्जनात्मक रूपमा प्रयोग गर्नु पर्नेछ । यहाँहरूको सुझाव पाऊँ ल,' पाण्डेको भनाइ छ । 

एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई भने साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । रावलले एमालेको पछिल्लो महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । त्यसपछि उनी पार्टीमा किनारा पारिँदै गएका हुन् । 

कान्तिपुर संवाददाता

Link copied successfully