काठमाडौँ — एमालेले सहकारी ठगीमा भएको अनुसन्धानमा राजनीतिक प्रतिरोध नभएको दाबी गरेको छ ।
केन्द्रीय सचिवालयको बुधबारकाे बैठकले प्रतिपक्ष दलहरु माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगीमा भएको अनुसन्धानमा राजनीतिक प्रतिरोध भएको आरोप लगाइरहेका बेला एमालेको भनाइ आएको हो ।
‘सहकारी ठगीमा राजनीतिक बायस होइन भन्ने घटनाक्रमले खण्डन भएको छ । तथ्यले पुष्टि गरेपछि अनुसन्धान अघि बढेको छ,’ सचिवालय बैठकपछि उपमहासचिब प्रदीप ज्ञवालीले भने, ‘सहकारी ठगीमा संसदीय छानबिन समितिले दिएको सिफारिसअनुसार अधिकार सम्पन्न प्राधिकरण गठन गर्न छिट्टै अध्यादेश जारी होस् भन्ने बैठकले आग्रह गरेको छ । मन्त्रिपरिषद्ले अध्यादेश ल्याउने निर्णय गरिसकेको छ ।’
ज्ञवालीले सहकारी ठगीमा सत्ता पक्षकै व्यक्तिहरु पनि अनुसन्धानको दायरामा आएको बताए । सहकारी ठगीमा भएको अनुसन्धानका क्रममा रास्वपा सभापति रवि लामिछाने प्रहरी हिरासतमा छन् ।
प्रतिपक्षले सहकारी ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङलगायतलाई अनुसन्धानको दायरमा नलाएको आरोप लगाउँदै आएका छन् ।
