काठमाडौँ — चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीलाई औषधि सिफारिस गर्दा अनिवार्य रूपमा जेनेरिक नाम उल्लेख गर्ने व्यवस्था मिलाउन औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
जेनेरिक औषधि सुझाव समिति सदस्यमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा रवि शाक्य, धुलिखेल अस्पतालका निर्देशक प्रा.डा बलराम मल्लसँगै नेपाल मेडिकल काउन्सिल तथा नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।
समितिको सदस्य सचिवमा भने गुणस्तर मापन तथा नियमन महाशाखाका वरिष्ठ व्यवस्थापक उषा तण्डुकारलाई तोकिएको छ ।
जनस्वास्थ्य सेवा ऐन २०२५ मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले औषधिको सिफारिस गर्नु पर्दा जेनेरिक नाम लेख्नु पर्ने उल्लेख छ ।तर, कार्यान्वय भने हुन सकेको थिएन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जेनेरिक नाम सिफारिस गर्न सकेमा उपभोक्ताले सुपथ मूल्यमा औषधि खरिद गर्न र औषधिको उपलब्धता सहज हुने बताए । ‘अहिले चिकित्सकहरूले औषधिको ब्राण्ड नाम लेख्ने गरेकाले उपभोक्ता महँगो शुल्क तिरेर सोही कम्पनीको औषधि खरिद गर्न बाध्य छन्,’ उनले भने ।
