पश्चिमी वायुको प्रभावले उपत्यकामा बढ्यो चिसो

पुस १०, २०८१

कान्तिपुर संवाददाता

Due to the influence of western wind, the valley became colder

काठमाडौँ — पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकालगायत मुलुकका अधिकांश भागमा मौसम बदली भई चिसो बढेको छ । पश्चिमी न्यून चापीय वायुको कारण काठमाडौं उपत्यकालगायत देशभर सोमबारदेखि चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

‘पश्चिमी न्यून चापीय प्रणाली आइरहेकाले हिजो (सोमबार) बाटै मौसममा बदली आइसकेको छ,’ उनले भनिन्, ‘अहिले कर्णाली प्रदेशका पहाडी भूभागहरूमा हल्का वर्षा र उच्च पहाडी हिमाली भूभागमा छिटपुटदेखि हल्का हिमपात भइरहेको अवस्था छ ।’

वर्षा र हिमपातका कारणले अहिले न्यूनतम तापक्रम बढेको र अधिकतम तापक्रम घटेकाले उपत्यकामा चिसो महसुस गरिएको उनले सुनाइन् । उनी थप्छिन्, ‘वर्षा हुँदै गरेको र यो वाग्मती प्रदेशसम्म पुगेको छ । पूर्वको मध्य नेपालको भूभागमा छिटपुटखालको वर्षाहरू भइरहेको अवस्था छ ।’

मंगलबार र बुधबार दिउँसोसम्मलाई पश्चिमी वायु प्रणालीले वर्षा र हिमपात गराउने सम्भावना रहेको र साँझबाट मौसममा अलिक सुधार भए पनि यो साताभर घाम लाग्ने सम्भावना कम रहेको उनले जानकारी दिइन् ।

महाशाखाले यसपालि प्रक्षेपण गरेअनुसार जाडो महिनामा तापक्रम औसतभन्दा बढी हुने र वर्षा औसतभन्दा कम हुनेछ ।

‘गएको २/३ दिनको तापक्रमभन्दा अहिले सबैभन्दा चिसो केन्द्र जोमसोम, जिरी र जुम्लामा माइनस पुगेको ठाउँमा आज (मंगलबार) तापक्रम घटेको छ,’ उनी भन्छिन्, ‘सोमबार जुम्लामा न्यूनतम तापक्रम माइनस सात डिग्री सेल्सियस मापन गरिएको थियो । जोमसोम र जिरीमा पनि माइनसमा तापक्रम थियो । मंगलबारको न्यूनतम तापक्रम हेर्दा जुम्लामा माइनस तीन डिग्री सेल्सियस छ ।’

यसैगरी यो साताभर घाम लाग्ने सम्भावना कम रहेको र मौसममा क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

कान्तिपुर

Link copied successfully