भन्छन् : ‘गगन र मेरो एकता हुन्न कि भन्ने कार्यकर्तामा ठूलो चिन्ता छ’
काठमाडौँ — कांग्रेस नेता शेखर कोइरालाले १५ औं महाधिवेशनको टुंगो नहुँदै नेतृत्वका लागि अभियान अघि बढाएका छन् । १४ औं महाधिवेशनताका पनि उनले यस्तै अभियान दुई वर्षअघि नै सुरु गरेका थिए ।
आफ्नै भाइ शशांक र बहिनी सुजाता कोइराला मात्रै होइन, रामचन्द्र पौडेल (हालका राष्ट्रपति), प्रकाशमान सिंहलगायतका नेताको साथ नपाउँदा गगन थापा, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, बद्री पाण्डे र जीवन परियारजस्ता युवालाई साथमा लिएर देउवासँगको प्रतिस्पर्धामा कोइराला भिडेका थिए ।
१४ औं महाधिवेशनमा खसेको ४ हजार ६ सय २३ मतमा २७ सय ३३ मत ल्याएर देउवा सभापतिमा निर्वाचित हुँदा कोइरालाले १८ सय ५५ अर्थात् ४० प्रतिशत मत प्राप्त गरेका थिए । कोइराला निकट एक नेता भन्छन्, ‘देउवा अहिले पनि बेलाबखत त्यत्रो मत कसरी ल्याउनु भयो भन्दै कोइरालासँगको भेटमा आश्चर्य प्रकट गर्ने गर्छन् ।’
युवा नेता गुरुराज घिमिरे कोइरालाले १४ औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा प्राप्त गरेको ४० प्रतिशत मत र त्यसअघि केन्द्रीय सदस्यमा ल्याएको लोकप्रिय मत जिल्ला दौडाहालाई मुख्य कारण ठान्छन् । ‘उहाँलाई माथिको गुटबन्दीभन्दा तलका कार्यकर्ताप्रति बढी विश्वास छ । त्यसैले उहाँ बढी जिल्लातिरै जान रुचाउनु हुन्छ, तर हामीहरू समन्वय गरेर, माथि र तल मिलाएर जाँदा नै सहज हुन्छ भनिरहेका छौं,’ घिमिरेले भने, ‘प्राथमिकता छनोट गर्ने उहाँ आफैंले हो ।’
कोइरालाले केही दिनमा मधेस र कर्णाली क्षेत्रको दौडाहा थाल्दै छन् । समयमा महाधिवेशन गराउने र अबको निर्वाचनमा कसैसँग गठबन्धन नगरी एक्लै चुनावी प्रतिस्पर्धामा जान सक्ने बिलियो कांग्रेस बनाउने आफ्नो लक्ष्य रहेको बताउँदै आएका छन् । कोइरालाले जनस्तरबाट दबाब दिँदा पनि समयमै महाधिवेशन हुने संकेत भने देखिएको छैन ।
विधान अनुसार कांग्रेस सभापतिको कार्यकाल चार वर्षको हुन्छ । देउवा दोस्रो पटक सभापति निर्वाचित भएको तीन वर्ष पूरा भई चार वर्ष लाग्दैछ । विधानको प्रबन्ध अनुसार ०८२ फागुनभित्र महाधिवेशन गर्नुपर्ने हुन्छ । तर, एक वर्ष बढाउन पाउने विधानकै थप व्यवस्थाका कारण यसअघिका महाधिवेशन पनि कहिल्यै समयमा भएका छैनन् । त्यही नजिरमाथि टेकेर यसपटक पनि ०८३ मा महाधिवेशन गराउने नेतृत्वको मनस्थिति छ । तर, कोइराला भने पदाधिकारीहरूले चाहेमा अझै पनि ०८२ मै महाधिवेशन गराउन सक्ने भन्दै आफ्नो अभियान रफ्तारमा अघि बढाउने सुरमा छन् ।
मंसिर १८ गते गृहनगर विराटनगरमा कोशीका पालिका सभापतिहरूको भेला डाकेर अघोषित रुपमा १५ औं महाधिवेशनको अभियान अघि बढाएका कोइरालाले त्यसपछि निरन्तर जिल्ला दौडाहा जारी राखेका छन् । चितवन, राजविराज, उदयपुर हुँदै तीन दिनको सुदूरपश्चिम यात्राबाट आइतबार फर्केका कोइराला आफ्नो बसाइ अब काठमाडौंभन्दा बाहिर नै बढी हुने बताउँछन् । औपचारिक रुपमा अभियानको घोषणा नगरे पनि आफ्नो दौडाहा अबदेखि राजधानीबाहिर नै बढी हुने उनको भनाइ छ ।
तलका कार्यकर्तालाई मुख्य शक्ति ठानिरहेका कोइरालालाई माथिको राजनीतिक दाउपेच मिलाउन भने चुनौतीपूर्ण देखिएको छ । एकातिर आफ्नै समूहबाट शक्तिशाली महामन्त्री गगन थापासँगको सम्बन्ध चिसिँदै गएको छ भने अर्कोतर्फ परिवारभित्रै अलग कित्तामा उभिएका भाइ शशांक र बहिनी सुजाताको समर्थन पाउन मुस्किल छ । शशांक र सुजाता दुवै १४ औं महाधिवेशनमा सभापति देउवाकै पक्षमा उभिएका थिए । १५ औं महाधिवेशनमा पनि शशांकले पुरानै कुरा दोहोर्याउँदै ‘शेरबहादुरजीको समर्थनमा म नै सभापति हुन्छु’ भन्दै आएका छन् ।
केन्द्रीय सदस्य चन्द्र भण्डारी विधानले सभापति देउवा पार्टी सभापति बन्न नपाउने भएपछि १५ औं महाधिवेशनबाट कांग्रेसमा परम्परागत गुटहरू नरहने बताउँछन् । विचार र कार्यक्रमले पार्टी हाँक्न सक्ने व्यक्ति नै अबको महाधिवेशनबाट सभापति बन्ने उनले बताए । त्यस्तो व्यक्ति को हुन सक्छ त ? ‘व्यक्ति गौण कुरा हो । मुख्य कुरा विचार हो । शेखर हुने कि गगन भन्नेबारेमा अहिलेसम्म सोचेका छैनौं,’ उनले भने, ‘हामी आफैं पनि हुन सक्छौं । पार्टीमा पहिले जस्तो गुटबन्दी अब हुन्न । नयाँ सोच, नयाँ विचार र जोश भएकाहरू नै नेतृत्वमा पुग्छन्, तलकालाई उत्साही गर्ने र माथिलाई सम्मान गरेरै कांग्रेसको नेतृत्व लिन सकिन्छ ।’
महामन्त्री थापा नै शेखरका लागि सबैभन्दा ठूलो चूनौती हुन् । थापाले अहिलेसम्म उम्मेदवार हुने कुरा घोषणा गरेका छैनन्, तर महामन्त्रीपछि सभापतिको उम्मेदवारी हुने कुरा प्राकृतिक रहेको उनले आफू निकटहरूसँग बताउँदै आएका छन् । थापा निकट एक केन्द्रीय सदस्यका अनुसार अबको महाधिवेशन शेखर र थापाबीच मै ध्रुवीकरण हुने बलियो सम्भावना छ । त्यसैको संकेतका रुपमा शेखरले जिल्ला दौडाहा सुरु गरेर आफ्नो पक्षमा माहोल बढाउन खोजेको उनको बुझाइ छ ।
यसबीचमा सभापति शेरबहादुर देउवाले आफ्नै टिमबाट कुनै व्यक्ति अघि सार्छन् वा शेखर र गगनमध्ये एकलाई समर्थन गर्छन् भन्ने कुराले पनि कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षको कित्ताकाट हुने कतिपय नेताहरूको भनाइ छ । युवा नेता घिमिरे पार्टी सभापति देउवाले अब सक्रिय राजनीतिबाट विश्राम लिने हुँदा नेतृत्व हस्तान्तरणसँग पार्टीभित्रको परम्परागत गुट भत्किएर नयाँ ध्रुवहरू खडा हुन सक्ने बताउँछन् । शेखर र गगनलाई मिलाएरै लैजाने दिशामा आफूहरूको समन्वयकारी भूमिका हुने घिमिरेले बताए ।
‘हाम्रो प्रयास अझै पनि समन्वय गराउनेमै केन्द्रित छ । हिजोका दिनमा कसैले साथ नदिँदा पनि युवाहरूको अग्रसरतामा अघि बढेका हौं,’ उनले भने, ‘पार्टीलाई एकढिक्का बनाउँदा मात्रै व्यवस्थित, चुस्त र न्याय गर्न सक्ने पार्टी बनाउन सकिन्छ । त्यसैका लागि लाग्ने हो । अहिल्यै को हुने भन्न सकिन्न । मिलेन भने आफ्नो बाटोमा हिँड्ने छुट सबैलाई हुन्छ ।’
कोइरालाले आफ्नो उम्मेदवारीका बारेमा कुनै शंका नभएको बताए । ७५ वर्ष उमेर पुगेका कोइरालाले १५ औं महाधिवेशनलाई आफ्नो अन्तिम राजनीतिक लक्ष्य बनाएका छन् । ‘१५ औं महाधिवेशनमा सभापतिको उम्मेदवारीको बारेमा अब कसैले पनि कुनै शंका गर्नुपर्ने छैन । म उम्मेदवार हो । कसैलाई सोधेर, बुझेर उठ्नुपर्ने होइन । यसमा आफूले निर्णय गर्ने हो । मैले निर्णय गरेर हिँडेको हुँ,’ कोइरालाले कान्तिपुरसँग भने, ‘महामन्त्रीसँग पनि मेरो धेरै टाढाको सम्बन्ध छैन । कुराकानी भई नै रहन्छ ।’
जिल्ला दौडाहासँगै उनी निकट नेताहरूले पार्टीको सक्रिय राजनीतिबाट अलग हुँदै गरेका देउवासँग सम्बन्ध नबिगार्न पनि सुझाउन थालेका छन् । पछिल्लो पटक देउवाले महामन्त्री थापालाई ‘च्याप्न’ थालेपछि कोइराला निकट केही नेता देउवासँग सम्बन्ध बढाएर जान कोइरालालाई निरन्तर सुझाउँदै आएका छन् । देउवाको समर्थन प्राप्त गर्दा मात्रै नेतृत्वमा पुग्न सहज हुने उनीहरूको ठम्याइ छ ।
‘अवकाशमा जाँदै गरेको सभापतिको सद्भाव लिने कुरा स्वाभाविक हुन सक्छ । सके समर्थन नै प्राप्त गरौं, नभए तटस्थ बसिदिए यसको प्रभाव रहन्थ्यो भन्ने पक्कै होला’ घिमिरेले थपे ।
कोइराला आफैंले पनि देउवासँगको सम्बन्ध सुधारको पक्षमा देखिएको संकेत दिएका छन् । सरकारका काम–कारबाही र गलत निर्णयहरूमा विरोध जनाउँदै आए पनि कोइराला पछिल्लोपटक देउवासँग नरम बन्न थालेका छन् । ‘सभापति हाम्रो आदरणीय हुनुहुन्छ । उहाँसँगको सम्बन्ध नजिक र टाढाको भन्ने छैन,’ उनले भने, ‘उहाँसँग १४ औं महाधिवेशनमा प्रतिस्पर्धा नै गरेको हुँ । देखेका, बुझेका कुरा गर्न अहिले पनि जान्छु ।’
गगन र मेरो एकता हुन्न कि भन्ने कार्यकर्तामा ठूलो चिन्ता छ : कोइराला
यहाँको जिल्ला अभियान कहाँ पुग्यो ?
भर्खरै जिल्ला दौडाहा सुरु गरेको छु । अभियानकै रुपमा कार्यक्रम बनाइसकेको छैन । भर्खरै सुदूरपश्चिम पुगेर फर्किएँ । जिल्ला–जिल्लाबाट साथीहरूले बोलाए । धनगढीमा बस्दा दार्चुलाबाट समेत साथीहरू आउनु भयो ।
यसबीचमा कति जिल्ला पुग्नुभयो ?
एक/डेढ हप्ताको बीचमा विराटनगर, राजविराज, उदयपुर, चितवन पुगेँ । त्यसपछि सुदूरपश्चिम गएको हुँ । काठमाडौंभन्दा बाहिरको कार्यक्रममा केन्द्रित हुनुपर्छ भन्ने मलाई लागेको छ ।
तपाईंले ०८२ भित्रै महाधिवेशन हुनुपर्छ भनेर बोलिरहनु भएको छ । तयारी के छ त ?
०८४ मा आमनिर्वाचन हुन्छ । त्यस वर्षको वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ । हामीले ०८२ भित्र महाधिवेशन गरेनौं र ०८३ मा पुर्यायौं भने पार्टीभित्र गुटबन्दीको असर स्थानीय तहको निर्वाचनमा पर्छ, त्यसले कांग्रेसलाई कमजोर बनाउँछ । त्यसका लागि पदाधिकारीहरूले जुन तयारी गर्नुपर्ने हो, त्यो भएको छैन ।
तर, महाधिवेशनको तयारी त हुन सकेको छैन नि ?
हो, हुन सकेको छैन, तर अझै गरे पनि ०८२ मै महाधिवेशन गराउन सकिन्छ । कोसिस त गर्नुपर्छ नि ! कोसिस नै भएको छैन । मैले त ०८२ मा महाधिवेशन गराउनुपर्छ भनेर कुराहरू राखिरहेको छु, सभापतिलाई भेटेरे पनि यो कुरा राखेको छु । भनेको भन्यै छु । उहाँले पनि समयमै गराउँछु भन्नु भएको छ । तर, छाँट हेर्दा समयमै महाधिवेशन गराउने अवस्था देखिँदैन ।
तपाईं आफैं पनि १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर प्रस्तुत हुनुभएको छ । प्रचार पनि त्यही ढंगले भइरहेको छ । सभापति बन्नका लागि यसपटक तपाईंका एजेण्डाहरू के–के छन् त ?
खासगरी एजेण्डा र मुद्दाहरू औपचारिक रुपमा तय गरेरै त गएको छैन, तर कांग्रेस यतिबेला तरबारको धारमा उभिएर हिँड्नुपरेको छ । एकातिर हाम्रो मुख्य प्रतिस्पर्धी एमाले हो भने अर्कोतर्फ सरकारमा सहकार्य पनि उसैसँग गर्नुपरेको छ । त्यसैले कांग्रेसभित्रको एकता नै अहिलेको मुख्य मुद्दा हो । पार्टीभित्रको गुटबन्दी, वैमनश्य र गुट–उपगुटलाई तोडेर अघि बढ्नुपर्छ । पार्टीभित्र बृहत् एकता कायम गर्न सक्दा नै निर्वाचनमा एक्लै लड्न सकिने संगठन बनाउन सकिन्छ भन्ने मलाई लागेको छ ।
आजको दिनमा तपाईं र गगनबीचको सम्बन्ध कस्तो हो ?
हामी धेरै टाढा छैनौं, सँगै हिँडेका छौं । गगन र मेरो एकता हुँदैन कि भन्ने चिन्ताचाहिँ कार्यकर्ताहरूमा भएको पाउँछु ।
सभापति शेरबहादुर देउवाको समर्थन खोजेर नेतृत्वमा पुग्ने होड पनि धेरै चलेको छ । यसबीचमा तपाईं कहाँ हुनुहुन्छ ?
सभापति हाम्रो आदरणीय हुनुहुन्छ । कति नजिक र टाढा भन्ने प्रश्न नै छैन । उहाँसँग १४ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेको हो । अहिले पनि देखेको, बुझेको कुरा गर्न जान्छु ।
सभापतिको समर्थन लिँदा मात्रै नेतृत्वमा पुग्न सकिन्छ भन्ने पनि छ नि ? त्यसैले तपाईं पनि समर्थन लिने कोसिसमा हुनुहुन्छ भनिन्छ नि ?
शेरबहादुरजीको समर्थन चाहिन्छ कि चाहिँदैन भन्ने कुरालाई लिएर जुन भाष्य निर्माण गर्न खोजिँदैछ, त्यो गलत हो । सुदूरपश्चिममै म जाँदा जुन खालको उत्साह देखेँ, त्यो मैले अपेक्षा गरेको थिइनँ । त्यसैले कसलाई नेतृत्वमा पुर्याउने भन्ने कुरा नेताको हातमा होइन, तलका कार्यकर्ताको हातमा छ । तलका कार्यकर्तामा केन्द्रको गुटबन्दीलाई लिएर एकदमै चिन्ता छ । कतिले एमालेसँग पनि मिल्न हुन्थेन भन्छन् । तर, एमालेसँग मिलेर सरकार बनाउनु हाम्रो बाध्यता थियो । राजनीतिको स्थायित्वका लागि मिलेको हो ।
१५ औं महाधिवेशनको प्रतिस्पर्धालाई लिएर महामन्त्री गगन थापासँग तपाईंको छलफल भएको छ कि छैन ?
यसबीचमा भएको छैन । मेरो उम्मेदवारीका बारेमा अब कुनै शंका गर्नुपर्ने छैन । म उम्मेदवार हो । सोधेर, बुझेर उठ्नुपर्ने होइन । यसमा आफूले निर्णय गर्ने हो । मैले निर्णय गरेरै देश दाैडाहा सुरु गरेको हुँ ।
