काठमाडौँ — माओवादी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउने हतियारका रूपमा प्रयोग गरेको समाजवादी मोर्चा निष्क्रियजस्तै भएको छ । माओवादी, एकीकृत समाजवादी प्रतिपक्षमा पुगेपछि यसका गतिविधि ठप्पप्राय: छन् ।
२०८० असारमा दाहालले कांग्रेससहितको गठबन्धन सरकारलाई टिकाउन मोर्चा घोषणा भएको थियो । माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी नेपाल र संसद्बाहिर रहेको नेपाल कम्युनिस्ट पार्टी मिलेर मोर्चा बनाए पनि त्यसको अन्तर्य सत्ता टिकाउने थियो ।
मोर्चामा पछिल्लो पटक बाबुराम भट्टराईबाट अलग भएको नेपाल समाजवादी पार्टी पनि सहभागी भई पाँच दलको मोर्चा बन्यो । तर पछिल्लो तीन महिनादेखि मोर्चाको बैठक समेत बस्न सकेको छैन । पार्टी विभाजनपछि जसपा नेपाल मोर्चाबाट बाहिरिइसकेको छ ।
गत असारमा कांग्रेस र एमाले गठबन्धन सरकार बनेपछि मोर्चाका गतिविधि ठप्प प्रायः छन् । माओवादी केन्द्र अध्यक्ष दाहालकै अरुचिका कारण मोर्चा अघि बढ्न नसकेको नेताहरूको भनाइ छ । 'नेपाली विशेषताको समाजवादको आधार निर्माण गर्ने' मुख्य उद्देश्यसहित मोर्चालाई केन्द्र, प्रदेश जिल्ला र स्थानीय तहसम्म गठन गर्ने कार्यविधिसहितको प्रतिवेदनको मस्यौदा बन्यो । चार दलका नेताहरूको कार्यदल बनाएको प्रतिवेदन अलपत्र छ । मोर्चासम्बद्ध नेताहरूले माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि दाहालले मोर्चालाई सक्रिय बनाउने जाँगर नदेखाएको बताएका छन् ।
‘सरकारमा रहँदा प्रचण्डजीले समाजवादी मोर्चालाई सत्ताको हतियारको रुपमा अघि बढाउनु भयो । अहिले मोर्चा भए पनि भविष्यमा पार्टी नै बनाउने भन्नुहुन्थ्यो । अहिले मोर्चाको नामनै लिन चाहनुभएको छैन,’ मोर्चा सम्वद्ध दलका एक नेताले भने, ‘नेपालमा समाजवादी शक्ति निर्माण गर्ने उद्देश्यले मोर्चा गठन भएको थियो । तर पछिल्लो समय प्रचण्डजीको जाँगर नै देखिएन ।’
मोर्चाका संयोजक रहेका नेकपा महासचिव नेत्रविक्रम चन्दले यही साता सकिएको केन्द्रीय समिति बैठकले मोर्चालाई सक्रिय बनाउने निर्णय गरेको छ । चन्दले मोर्चालाई सक्रिय बनाउन दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरिसकेका छन् ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले मोर्चामा रहेका दलहरू आआफ्नो पार्टीको काममा व्यस्त भएकाले गतिविधि हुन नसकेको बताए । मोर्चामा रहेका सबै दलबीच कार्यक्रम गर्ने भन्नेमा सहमत भए पनि आ-आफ्नो व्यवस्थताले सम्भव नभएको बताए । ‘मोर्चामा रहेका सबै आ-आफ्ना दलका कार्यक्रम भइरहेका छन् । एक ठाउँमा जुटेर सल्लाह गर्न पाएको छैनौँ,’ उनले भने, ‘समाजवादी क्रियाशील बनाउने विमति छैन । मोर्चाको कार्यविधि तयार भए पनि अन्तिम रूप दिन पाइएको छैन ।’ उनले माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपाको आ-आफ्नो बैठकले मोर्चालाई अघि बढाउने निर्णय गरेकाले आवश्यकताअनुसार अघि बढ्ने जनाए । ‘नेपालमा समाजवादको आधार तयार गर्ने गरी फेरि सक्रिय हुनेछ,’ उनले भने ।
नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले मोर्चाको सबभन्दा ठूलो दल माओवादी केन्द्रले सक्रियता नदेखाएका कारण यसका गतिविधि शिथिल भएको बताए । जनता समाजवादी पार्टी विभाजन हुनु र त्यसपछि माओवादी केन्द्रले चासो नदेखाएकाले मोर्चाका काम ठप्प भएको उनले बताए । ‘गठबन्धन सरकारमा सहभागी पार्टीबीच समस्या पैदा भएपछि सहकार्य र तालमेलमा प्रभाव पारेको हो । राम्ररी छलफल भएको भए उपेन्द्रजी बाहिर निस्कनु पर्ने कारण थिएन,’ उनले भने, ‘मोर्चा शिथिल हुनुमा माओवादी केन्द्र जिम्मेवार छ ।’ उनले यही साता सकिएको केन्द्रीय समिति बैठकले मोर्चालाई सक्रिय बनाउने निर्णय भएको बताए । ‘हामी मोर्चालाई अघि बढाउँछौ । सक्रिय र प्रभावकारी बनाउने हो,’ उनले भने, ‘समाजवादी मोर्चा अहिलेको वस्तुगत र अवस्था र राष्ट्रिय आवश्यकता हो ।’
एकता तत्काल सम्भव नभए मोर्चाबन्दी गर्ने नीतिलाई अख्तियार गर्नुपर्नेमा पनि नेकपाले निर्णय गरेको छ । ‘विचारको विकासलाई सहयोग पुग्ने, नयाँ आधारहरू निर्माण गर्न सक्ने र क्रान्तिलाई अगाडि बढाउन सक्ने गरी एकता गर्ने,’ नेकपाको निर्णयमा भनिएको छ, ‘मोर्चाको उल्लेख गर्दा हामीले समाजवादी मोर्चालाई सक्रिय बनाउन, अन्य पार्टीलाई जोड्न जोड दिनुपर्छ ।’ एकीकृत समाजवादीको गत साता भएको स्थायी समितिले विगतमा बनेका विभिन्न गठबन्धन र मोर्चाले आफ्नो दललाई उपयोग गरेको भन्दै राजनीतिक कार्यक्रमका आधारमा मात्र सहकार्य गर्ने निर्णय गरेको छ ।
‘अब एकीकृत समाजवादी ठोस राजनीतिक कार्यक्रमका आधारमा गरिने सहकार्य, मोर्चा वा एकताबाहेक अरू कुनै पनि गठबन्धन गर्दैन भन्नेमा आफैं पनि स्पष्ट हुनुपर्छ,’ स्थायी समितिले पारित प्रतिवेदनमा भनिएको छ, ‘आम रूपमा अन्योलग्रस्त प्रवृत्ति देखिएका छन् । पार्टी निर्माणको एउटा स्पष्ट राजनीतिक कार्ययोजनाले मात्रै यसलाई समाधान गर्न सक्छ । खुलस्त छलफलद्वारा पार्टी पंक्तिलाई एकताबद्ध नबनाउने हो भने पार्टीले गति लिन सक्दैन ।’
उपाध्यक्ष बेदुराम भुसालले भने समाजवादी मोर्चालाई सक्रिय बनाउन सम्बद्ध दलको धारणा रहेको बताए । ‘समाजवादी मोर्चालाई सक्रिय बनाउनुपर्छ भन्ने हाम्रो धारणा हो । हाल दलहरू आ-आफ्ना काममा लागेकाले मोर्चाका गतिविधि छैनन्,’ उनले भने, ‘हामी महाधिवेशन र त्यसपछि संगठन निर्माणमा लाग्यौँ । माओवादी पनि आफ्नै योजनामा अघि लाग्यो । स्थानीय तहको उपनिर्वाचमा व्यस्त भयौँ ।’ माओवादी, नेकपा एस प्रतिपक्षमा पुगेपछि दलहरू आन्तरिक गतिवधिमा व्यस्त भएपछि मोर्चा निष्क्रियजस्तो देखिएको बताए । ‘हामी सरकारमा थियौँ । मोर्चा बन्नेबित्तिकै देशव्यापी भेला पनि भए । केन्द्र, प्रदेश, जिल्ला तहसम्म अभियान चलाउने तयारी थियो । तर हाल स्थगित भएको छ,’ उनको भनाइ छ ।
मोर्चाको राजनीतिक दस्ताबेज बनाउन बनेको कार्यदलका सदस्य एवं नेपाल समाजवादी दलका नेता गंगानारायण श्रेष्ठले मस्यौदा बनिसकेको दस्ताबेजले अन्तिम रूप पाउन नसकेको बताए । ‘मोर्चाको राजनीतिक दस्तबेज लगभग तयार छ । मोर्चा सम्बद्ध राजनीतिक दलका नेताहरूको मोर्चाप्रति उदासीनता देखियो,’ उनले भने, ‘मोर्चामा पार्टी एकता गर्ने हदसम्म छलफल चलेको हो । समाजवादी ध्रुव निर्माण गर्ने र विचार मिल्नेसँग एकताको आधार बनाउने भन्ने थियो । अहिले पूरै सेलाएको छ ।’
प्रतिनिधिसभामा ५४ सिट भएका माओवादी, नेकपा एस र जसपा नेपालको मोर्चा बनेपछि गठबन्धनमा रहेको कांग्रेसलाई दबाब दिने नीति रहेको थियो । गठबन्धनमा रहेका यी तीन दल र संसद्बाहिर रहेको नेकपाले सडकबाट दबाब दिने नीति लिएका लिएका थिए ।कांग्रेस, माओवादीसहति गठबन्धन सरकारका बेला दाहालको पहलमा मोर्चा गठन भएको थियो । सातै प्रदेशमा भएका सभाहरूलाई माओवादी केन्द्रका अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरूले सम्बोधन गरेका थिए । उनीहरूले त्यसबेला समाजवादी क्रान्तिको आधार तयार गर्न मोर्चा गठन गरेको दाबी गरेका थिए ।
मोर्चाले २०८० असारमा घोषणा गर्दा ‘संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य हुने,’ बताएको थियो । दाहाल नेतृत्वको सरकार भएकै बेला उनीहरूले आर्थिक र सामाजिक अधिकार, रोजगारी दिने दाबीसमेत गरेका थिए । तर अहिले उनीहरू पार्टीको आन्तरिक व्यवस्थापनमै लागेका छन् ।
‘जनताको नागरिक र राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गराउँदै शान्तिपूर्ण, न्यायसंगत र समावेशी समाजको निर्माण गर्ने,’ मोर्चाले भनेको थियो, ‘आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगीकरण गर्ने, वैदेशिक रोजगारीबाट पुाजी र प्रविधिसहित फर्केका नेपालीहरूलाई देशभित्र रोजगारमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने र उत्पादनका क्रियाकलाप वृद्धि गरी रोजगारी प्रदान गर्ने । गरिबी उन्मूलन र रोजगार प्रवर्द्धनको क्षेत्रहरूमा लगानी बढाउन तीनवटै तहको सरकारहरूलाई क्रियाशील बनाउने ।’ मोर्चा र सरकारबीच समन्वय गरी यी काम गर्ने बताए पनि प्रतिपक्षमा पुगेका मोर्चासम्बद्ध दल सेलाएका छन् ।
