काठमाडौँ — अनुत्तीर्ण विद्यार्थीलाई ग्रेसलिस्टमा समावेश गरी दीक्षान्त समारोहबाट शैक्षिक उपाधि प्रदान गरेको विषयमा काठमाडौं विश्वविद्यालय (केयू) को सर्वोच्च निकाय सिनेटमा सोमबार छलफल भएको छ ।
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको कार्यालय सिंहदबारमा बसेको बैठकमा दीक्षान्त कार्यक्रममा भएको त्रुटिबारे जानकारी गराइएको रजिस्ट्रार अच्युत वाग्लेले जानकारी दिए । ‘ती विद्यार्थीहरू नम्बर थप गरेर पास गराइएका थिएनन् । त्रुटि भएर उनीहरूको नाम ग्रेसलिस्टमा पर्न गएको हो । ती विद्यार्थीले गाउन लगाएर डिग्रीको प्रमाणपत्र बुझेका पनि होइनन्,’ वाग्लेले भने, ‘यही कुरा सिनेट सदस्यलाई जानकारी दियौं ।’
त्रुटि फेला परेपछि नै ग्रेसलिस्टबाट हटाएर स्वत: उक्त निर्णय सच्चिएको उनले जनाए । ‘लापरबाही वा बदनियत के भएर त्रुटि हुनपुग्यो, त्यसको छानबिन गर्न समिति बनाएको छौं । त्यसपछि विस्तृत थाहा होला,’ वाग्लेले भने ।
अध्ययन बीचमा छाडेका तथा परीक्षामा अनुत्तीर्ण विद्यार्थीको नाम ग्र्रेसलिस्टमा समावेश भई दीक्षान्त समारोहबाट शैक्षिक उपाधि प्राप्त गरेको विषयमा केयूले छानबिन समिति गठन गरेर अध्ययन थालेको छ । छानबिनका लागि ‘स्कुल अफ ल’ का डिनको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको केयूले जनाएको छ । समितिमा पूर्वपरीक्षा नियन्त्रक पन्ना थापा र पूर्वपरीक्षा सहनिर्देशक वीरेन्द्रबहादुर लाखे सदस्य रहेका छन् । यस विषयमा गहन अनुसन्धान गरी भविष्यमा यस्ता कमजोरी हुन नदिन छानबिन एवं अध्ययन गर्नुपर्ने आवश्यकता देखिएकाले कार्यकारी परिषद्ले समिति गठन गरेको केयूका प्रवक्ता एक्कुमाया पुनले जानकारी दिइन् । प्रतिवेदन बुझाउन समितिलाई एक साताको समयावधि दिइएको छ ।
प्रवक्ता पुनले विज्ञप्ति जारी गर्दै ‘स्कुल अफ म्यानेजमेन्ट’ अन्तर्गत डिग्री पूर्ण नभएका र बीचमै अध्ययन छाडी गएका समेत अनुत्तीर्ण ८ जना विद्यार्थीको नाम ग्रेसलिस्टमा पर्न गएको जनाएकी छन् । कान्तिपुरले आइतबार ७ जना अनुत्तीर्ण विद्यार्थीलाई मंसिर २९ मा प्रधानमन्त्री तथा कुलपति ओलीको उपस्थितिमा आयोजित दीक्षान्त समारोहमा शैक्षिक उपाधि प्रदान गर्ने निर्णय गरिएको समाचार प्रकाशित गरेको थियो । आइतबार नै बसेको कार्यकारी परिषद् बैठकले छानबिन समिति गठन गरेको हो । उक्त विषयमा रजिस्ट्रार वाग्लेले आन्तरिक अनुसन्धान गर्न निर्देशन दिइसकेको समेत केयूले जनाएको छ । त्यस क्रममा परीक्षा नियन्त्रण कार्यालयमा कार्यरत अधिकृत सीएन खड्गाले गल्ती स्वीकार गर्दै स्पष्टीकरण दिएको समेत केयूले जनाएको छ ।
खड्गाले दिएको स्पष्टीकरणमा बीबीए कार्यक्रममा डिग्री पूर्ण नभएका वा बीचमै अध्ययन छाडिसकेका विद्यार्थीको नाम त्रुटिवश ग्रेसलिस्टमा पर्न गएको पाइएको उल्लेख गरिएको छ । उनले लेखेका छन्, ‘त्रुटिका लागि गम्भीरतापूर्वक क्षमा माग्दै उक्त नामहरू ग्रेसलिस्टबाट हटाई तिनीहरूको डिग्री प्रमाणपत्र नष्ट गर्न अनुरोध गर्दछु ।’ उनले ९ जना विद्यार्थीको सूचीसमेत बुझाएका छन् । खड्गाले परीक्षा नियन्त्रकलाई लेखेको स्पष्टीकरण पत्रमा विद्यार्थीको विवरण अद्यावधिक नगरी विवरण पठाएकाले अयोग्य विद्यार्थीहरूको नाम पनि सूचीमा पर्न गएको स्वीकार गरेका छन् । उनले आगामी दिनमा पटक/पटक तथ्यांक रुजु गरेर काम गर्ने भन्दै त्रुटि नदोहोर्याउने प्रतिबद्धतासमेत जनाए । स्रोतका अनुसार खड्गा यसअघि पनि यस्तै लापरबाही र बदमासीपूर्ण काममा संलग्न रहँदै आएकाले सचेत गराई काममा लगाउँदै आएका व्यक्ति हुन् । ती विद्यार्थीले दीक्षान्त समारोहबाट शैक्षिक उपाधि प्राप्त गरे पनि प्रमाणपत्र भने नलिएको केयूले दाबी गर्दै आएको छ ।
प्रधानमन्त्री ओलीको उपस्थितिमा बसेको सिनेट केयू र धुलिखेल अस्पतालबीचको विवादको दीर्घकालीन समाधान गर्न समितिसमेत गठन गरेको छ । धुलिखेल अस्पतालका प्रमुख रामकण्ठ माकाजू र केयूका उपकुलपति भोला थापाको नेतृत्वमा समिति गठन भएको हो । केयूले अस्पतालसँग सम्झौता गरेर चिकित्सा शिक्षाको कार्यक्रम स्थापनाकालदेखि नै सञ्चालन गर्दै आएको छ । दुई निकायबीच सम्झौता कार्यान्वयनका विषयमा विवाद देखिएपछि समाधान गर्न दुई संस्थाका प्रमुखहरूसहित प्रतिनिधि रहने समिति गठन भएको सभाका एक सदस्यले बताए ।
